latest
रातामकै चोकबाट १० जना पक्राउ  ||    प्रधानमन्त्री सुशीला कार्कीले बोलाइन् दलहरूको बैठक  ||    म संग पनि रोलेक्स घडी छ भन्दै महाबिर पुनले लेखे यस्तो स्टाटस  ||    टिओबीका तेन्जिङ दावाको नागरिकता प्रमाणपत्र काठमाडौं जिल्ला प्रशासन कार्यालयको प्रणालीमा भेटियो, तर….  ||    प्रहरीलाइ बर्दी खोल्न लगाएर खोलैखोला लखेट्ने यी व्यक्तिले लगेका रहेछन यस्तो हतियार  ||    तीनकुनेमा प्रहरीको बर्दी खोल्न लगाएर लखेट्ने व्यक्ति पक्राउ, यी पो रहेछन-  ||    मोहन वैद्य ‘किरण’ले लिए सक्रिय राजनीतिबाट बिदा  ||    सञ्चारमन्त्री जगदिश खरेलले लगाएको घडीको मूल्य १ करोड हैन २३ हजार मै किन्न पाइन्छ  ||   
आइतबार , कार्तिक २, २०८२

काठमाडौँ ।
सामाजिक सञ्जालमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले करिब १ करोड रुपैयाँको रोलेक्स घडी लगाएको भन्दै भाइरल भएको भिडियो भ्रामक भएको खुलेको छ।

तथ्यजाँच वेबसाइट टेकपाना फ्याक्टचेकले गरेको अनुसन्धान अनुसार मन्त्री खरेलले लगाएको घडी रोलेक्स होइन, जापानी ब्रान्ड ‘रुस्टर’ (Rooster) भएको पुष्टि भएको छ।

शुक्रबार (१७ अक्टोबर) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तिलिचो बेसक्याम्पमा फोरजी सेवा सञ्चालनमा आएको सूचना दिँदै आफ्नो आधिकारिक फेसबुक पेजमा भिडियो सार्वजनिक गरेको थियो।
उक्त भिडिओमा मन्त्री खरेलको हातमा देखिएको घडीलाई केही प्रयोगकर्ताले ‘रोलेक्स डेटोना’ मोडलको घडी भन्दै पोस्ट गरेपछि भिडियो सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भएको हो।

‘मिसन पीएम’, ‘सचेत खबर’, र ‘कमल बोहरा आरएसपी’ नामका फेसबुक पेजहरूले लेखेका थिए —

“कांग्रेसका सञ्चार मन्त्री जगदीश खरेललाई कान्तिपुरका मालिकले करिब एक करोडको रोलेक्स घडी दिएका छन्।”

उक्त दाबीलाई समर्थन गर्दै भीम उपाध्याय, युवराज पौडेल सफललगायतले समेत सोही विषयमा पोस्ट गरेका थिए।

‘टेकपाना फ्याक्टचेक’ टिमले मन्त्रालयको भिडियो डाउनलोड गरी घडीको उच्च रेजोलुसन फ्रेम विश्लेषण गरेको थियो।
विश्लेषणका क्रममा घडीको डायलमा स्पष्ट रूपमा ‘ROOSTER’, ‘CHRONOGRAPH’, र ‘WATER RESISTANT’ लेखिएको भेटिएको हो।

त्यसपछि मन्त्री खरेलसँग सम्पर्क गर्दा उनले भने —

“जापानमा मेरा दाइ डा. दिपेश खरेल हुनुहुन्छ, उहाँले पुरानो घडी दिनुभएको हो।
म यही घडी करिब चार वर्षदेखि लगाउँदै आएको छु।”

मन्त्री खरेलले पठाएको घडीको फोटो र मन्त्रालयको भिडिओका फ्रेम मिल्दा त्यो नै रुस्टर ब्रान्डको घडी भएको पुष्टि भएको फ्याक्टचेकले जनाएको छ।

अन्तर्राष्ट्रिय अनलाइन बजार ईबेमा रुस्टर ब्रान्डको यस्तै घडीको मूल्य करिब १६६ अमेरिकी डलर, अर्थात् नेपाली रुपैयाँमा झण्डै २३ हजार ३१८ रुपैयाँ बराबर देखिन्छ।
यसका आधारमा सामाजिक सञ्जालमा गरिएको “१ करोडको रोलेक्स” भन्ने दाबी पूर्णरूपमा गलत भएको निष्कर्ष निकालिएको छ।

सञ्चारमन्त्री जगदीश खरेलले रोलेक्स होइन, रुस्टर ब्रान्डको घडी लगाएका हुन्।
भिडिओमा देखिएको घडीको वास्तविक मूल्य करिब २३ हजार रुपैयाँ मात्र रहेको फ्याक्टचेकबाट प्रमाणित भएको छ।
त्यसैले, सामाजिक सञ्जालमा गरिएको “मन्त्रीले १ करोडको रोलेक्स लगाएका छन्” भन्ने दाबी भ्रामक र गलत हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय