
काठमाडौं — गायिका नीतु पौडेलले आत्मदाह प्रयास गरेको घटनामा गायक तथा संगीतकार बाबुल गिरी (धनबहादुर) लाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ।
शनिबार दिउँसो अनामनगरस्थित गिरीकै एरेन्ज स्टुडियोमा नीतुले शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी थिइन्। आगो निभाउने क्रममा बाबुल पनि सामान्य रूपमा घाइते भएका थिए।
घटनापछि दुवैलाई किर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो। बाबुललाई त्यहाँ उपचारपछि शनिबार नै डिस्चार्ज गरिएको र डिस्चार्जलगत्तै प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर, भद्रकालीका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, “के–कसरी घटना भयो भन्ने बुझ्नका लागि बाबुल गिरीलाई नियन्त्रणमा लिएका हौं। हालसम्म उनीविरुद्ध कुनै उजुरी वा जाहेरी दर्ता भएको छैन।”
प्रहरीका अनुसार हालसम्म म्याद थप वा मुद्दा दायर गर्ने कुनै अवस्था छैन।
गायिका पौडेलको अवस्था भने अझै पनि गम्भीर रहेको बुझिएको छ।