
लिस्बन । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल पुगेका एक नेपाली युवा एक सातादेखि बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा तनहुँको भानु नगरपालिका–९, पिपलपानीका ३४ वर्षीय जितेन्द्र पाण्डे रहेका छन्। उनी करिब दुई वर्षअघि क्रोएसिया हुँदै पोर्चुगल पुगेका थिए र हाल लिस्बन नजिकैको सिन्ट्रा क्षेत्रमा अवस्थित एक प्याकिङ कम्पनीमा कार्यरत थिए।
पाण्डेका साथी विदुर तामाङका अनुसार उनी गत सोमबारदेखि सम्पर्कविहीन भएका हुन्।
“गत आइतबार राति घरमा साथीको फोन आएको भन्दै बाहिर निस्केका थिए। त्यसपछि उनी फर्किएनन्,” — तामाङ
सोमबार काममा नगएपछि साथिहरूले खोजतलासी थालेका थिए। उनी बस्ने कोठामा पाण्डेको रेसिडेन्सी कार्ड, राहदानी, बैंक कार्ड र अन्य सबै सामान भेटिएको तामाङले बताए।
नेपालमा रहेका उनका परिवारसँग पनि सोमबार बिहानको अन्तिमपटक फोन सम्पर्क भएको बताइन्छ।
“पाण्डेले आफन्तलाई केही दिन सम्पर्कमा नहुने बताएका रहेछन्,” — तामाङ
घटना सार्वजनिक भएपछि रोजगारदातामार्फत स्थानीय प्रहरीलाई मङ्गलबार नै जानकारी गराइएको थियो।
पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले पाण्डेको बेपत्ता सम्बन्धी जानकारी दूतावासमा पुगेको पुष्टि गरेका छन्।
“हामीले स्थानीय प्रहरी प्रशासनसँग निरन्तर सम्पर्कमा रही खोजी कार्य अगाडि बढाएका छौँ,” — राजदूत पौडेल
बेपत्ता पाण्डेका नेपालमा वृद्ध बुबाआमा र दिदीबहिनी रहेका छन्। हालसम्म उनीबारे कुनै अत्तोपत्तो नलागेपछि पोर्चुगलमा रहेका नेपाली समुदायले चिन्ता व्यक्त गरेका छन्।