भैरहवाको तातो पर्खालभित्र, एउटा सानो कोठामा अहिले नेपालको राजनीतिक मञ्चका सबैभन्दा चर्चित पात्र रवि लामिछाने बन्दी जीवन बिताइरहेका छन्। कहिले माइक समातेर भ्रष्टाचारविरुद्ध आक्रोश पोख्ने व्यक्ति, आज आफैँ ‘षड्यन्त्रको फन्दा’मा परेको छ।

टेलिभिजन पर्दामा ‘सिधा कुरा’ गर्दै भ्रष्टाचारको नाङ्गो रुप उजागर गर्ने यो आवाज, आज फलामको ढोकाभित्र बन्द गरिएको छ। रविको यात्रा सजिलो कहिल्यै थिएन। पत्रकारितामा रहँदा उनले शक्तिशालीलाई डराउने र सामान्य नागरिकलाई बोल्ने हिम्मत दिने काम गरे।

उनको बोली धारिलो थियो, सवाल कडा थियो, र आवाज— जनताको पक्षमा अडिग। ‘सिधा कुरा’मा देखिने उनका कठोर प्रश्न र निर्भीक आवाज लाखौँ नेपालीका लागि आशा थिए। यही आवाज संसदसम्म पुग्यो, मन्त्रीको कुर्सी चुम्यो। तर, यो आवाज धेरैलाई असहज लाग्यो, डर लाग्यो। र, यही डरले उनलाई जेलसम्म पुर्‍यायो।

रबिका समर्थक भन्छन – “यो मुद्दा कानुनी मात्र होइन, राजनीतिक खेल हो।”यो पुराना दलहरूको प्रतिशोध हो। जनताको समर्थन रोक्नका लागि उनलाई थुनिएको हो। “रविको निर्भीकता धेरैलाई सह्य भएन।
धेरैलाई डर लाग्यो कि उनले देशको पुरानो खेल बिगारिदिन्छन्।”त्यसपछि सुरु भयो— अदालत, मुद्दा, बयान, अनि अन्ततः— जेल।

मानवअधिकार आयोगको अनुगमनले उनीलाई दिएको पीडा झन् छर्लंग भएको छ। राष्ट्रिय मानवअधिकार आयोगको टोली भैरहवा पुग्यो। कारागारभित्रको वास्तविक अवस्था, थुनामा राखिएका व्यक्तिको अनुगमनपछि बाहिर आएको विवरणले कारागार प्रणालीकै अस्वस्थ अवस्था उजागर गरिदियो।

आयोगकी प्रवक्ता लिली थापाले पहिलो टिप्पणीमै भनिन ,“क्षमताभन्दा अत्यधिक कैदीबन्दी राखिनु नै मूल समस्या हो।”भैरहवा कारागारको क्षमता सीमित छ, तर कैदी संख्या त्यसको गुणात्मक रूपमा बढी। यसले न केवल सरसफाइमा, बरु हरेक कैदीको स्वास्थ्य, निजी स्थान र मानसिक अवस्थामासमेत नकारात्मक असर पारेको छ।

अनुगमन टोलीले लामिछाने बसेको कोठा निरीक्षण गर्दा झ्यालहरू फलामको पातले टालिएका देखिए। जेल प्रशासनको भनाइमा, “नजिकैका बस्ती र सर्पदंशको जोखिम” कारण हो। तर, आलोचकहरूको प्रश्न छ — यो व्यवस्था सुरक्षा भन्दा बढी, कैदीको मानसिक र शारीरिक स्वास्थ्यमा नोक्सान पुर्‍याउने ‘अतिरिक्त सजाय’ हो कि?

थापाले नै स्वीकारिन् —“हाम्रो आग्रहपछि झ्याल खोल्ने निर्णय गरिएको छ।” पंखा छ, तर एसी छैन — गर्मीमा कस्तो हुन्छ अवस्था? इन्सेककी प्रतिनिधि रिमा बिसीले रिपोर्ट गरिन्, “कोठामा एउटा ठूलो फलामको पंखा र अर्को स्ट्यान्ड पंखा छ। तर हावापास नहुने भएकाले तातो भित्रै अड्किन्छ।”

झ्याल टालिएको कोठा, पंखा त छ, तर तातो हावा मात्रै घुम्ने, एसी छैन, आधारभूत सुविधाको कमी ।समर्थकहरूको बुझाइमा, यो केवल कानुनी प्रक्रियामात्र होइन, मानसिक र शारीरिक दवाब सिर्जना गर्ने रणनीति पनि हो।

समर्थकहरू भन्छन्— अदालतले न्याय गर्छ भने यो केवल एक व्यक्ति होइन, ‘राजनीतिक षड्यन्त्रविरुद्धको विजय’ हुनेछ। उनीहरूका लागि रवि लामिछाने एउटा नाम मात्र होइन, त्यो आवाज हो जसले सडकदेखि संसदसम्म भ्रष्टाचारलाई चुनौती दिएको छ।
रविका समर्थकहरूका आँखामा आँसु छ, तर त्यो आँसुमाथि विश्वासको चमक पनि छ।किनकि उनीहरू भन्छन्— “रविलाई त थुनियो, तर उनको आवाज? त्यो त अझ ठूलो स्वरमा गुञ्जिरहेको छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय