
ओखलढुंगाबाट ११ वटा भैँसी लिएर काठमाडौँतर्फ जाँदै गरेको ट्रक हिलोमा फसेपछि सिन्धुलीको गोलन्जोर गाउँपालिकामा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।
शनिबार बिहान करिब ४ः४५ बजे गोलन्जोर–६ स्थित अकरेभिरमा ना.७ ख ७८९० नम्बरको ६ चक्के ट्रक सडकको हिलो र लेदोमा फसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। लगातारको वर्षाका कारण सडक चिप्लो बनेको र ट्रक फसेपछि सवारी आवागमन पूर्णरूपमा रोकिएको हो।
सडक अवरुद्ध हुँदा ओखलढुंगा, खोटाङ, सोलुखुम्बु लगायतका जिल्लाबाट काठमाडौँ तथा तराईतर्फ गइरहेका साना–ठूला सवारी साधन बीच बाटोमै रोकिएका छन्।
अहिले ट्रक हटाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा अस्थायी प्रहरी चौकी हैवारबेँसीबाट प्रहरी टोली परिचालन गरिएको छ।
त्यसैगरी, गोलन्जोर–६ कै बलेनीमा पहिरो खस्दा अर्को स्थानमा पनि लोकमार्ग अवरुद्ध भएको छ। दुई ठाउँमा एकैपटक मार्ग बन्द हुँदा यात्रुहरू गन्तव्यमा समयमै पुग्न नपाएर समस्यामा परेका छन्।
गएरातिदेखि सिन्धुली लगायतका क्षेत्रमा लगातार वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन वर्षा जारी रहने सम्भावना छ, जसले सडक अवरोध हटाउने कार्यमा थप चुनौती निम्त्याउन सक्छ।