पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबको रहिम यार खान जिल्लामा सशस्त्र समूहहरूले प्रहरी चेकपोस्टमा गरेको आक्रमणमा कम्तीमा पाँच जना प्रहरीको ज्यान गएको छ ।

प्रहरी अधिकारीहरूले शुक्रवार दिएको जानकारी अनुसार, एलीट फोर्सले निगरानी गरिरहेको चेकपोस्टमा दर्जनौँ हतियारधारी आक्रमणकारीहरूले रातको समयमा आक्रमण गरेका थिए ।

जिल्ला प्रहरी प्रमुख (डिस्ट्रिक्ट पुलिस अफिसर) इर्फान अली सामोले सञ्चार माध्यमलाई जानकारी दिँदै भने,’अत्याधुनिक हतियारले सुसज्जित सशस्त्र समूहहरूले अन्धकारको फाइदा उठाएर हाम्रा वीर सुरक्षाकर्मीहरूलाई लक्षित गर्दै चेकपोस्टमा आक्रमण गरे । ती सबै सुरक्षाकर्मीहरू आफ्नो कर्तव्यमा समर्पित रहँदै शहीद भएका हुन् ।’

आक्रमण पछि घटनास्थलमा बख्तरबन्द गाडी र थप सुरक्षा बल पठाइएको छ । प्रहरीका अनुसार, सशस्त्र समुहहरूको सम्भावित लुकाइस्थानतर्फ जाने सबै नाकाहरू सिल गरिएको छ र व्यापक सैन्य अपरेशन सुरु गरिएको छ ।

सामोले भने , ‘हामीले सशस्त्र समुहहरू लुकेका क्षेत्रहरू घेरा हालेका छौँ र तीलाई समात्न ठूलो मात्रामा अपरेशन जारी छ ।’ अहिले पनि आसपासका गाउँ तथा जङ्गल क्षेत्रमा गम्भीर खोजी अभियान चलिरहेको छ । सुरक्षा बलले भारी हतियारको प्रयोग गर्दै बख्तरबन्द सहयोगमार्फत आक्रमणकारीहरूलाई नियन्त्रणमा लिन प्रयास गरिरहेको जनाइएको छ ।

सुरक्षा निकायका अधिकारीहरूका अनुसार, यस्ता सशस्त्र समुहहरू रहिम यार खानको केही दुर्गम क्षेत्र तथा सन्देहास्पद नदी किनार वरपर सक्रिय हुँदै आएका थिए र यसअघि पनि उनीहरूका गतिविधिहरूले स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूलाई चिन्तित बनाउँदै आएका थिए ।

घटनाले स्थानीय स्तरमा त्रास फैलिएको छ भने सुरक्षा स्थिति थप सुदृढ पार्न जिल्ला प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय