
सोमबार बिहान सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, भण्डास बिप्पर कटेरीमा सबथोक थियो, तर मान्छे थिएनन्।
उर्मिला हायुको परिवार — गाउँलेका आँखामा भरोसा, छिमेकीका हाँसोका साथी — १६ जना सदस्यसहित एकैचोटि बेपत्ता भएका थिए।कोही कहाँ गए? किन गए? कि लगे?
‘कुकुर झ्यालमा बसेर रोइरहेको थियो’
वडाध्यक्ष रविन श्रेष्ठ र प्रहरी सोमबार बिहान हायुसँगको सम्पर्क टुटिएको खबर पाएर घर पुगे।गृहद्वार खुल्ला थियो। गोठमा बाख्रा अलपत्र, कुखुरा छरपस्ट, अनि एकटा कुकुर झ्यालको छेउमा टुलुटुलु हेर्दै रोइरहेको — मानौँ उसले मान्छेको हराएको पीडा बुझेको हो।
घरसँगै जोडिएको भान्साको छाप्रो आगोले झुस्सिएको रहेछ। चुल्हो चिसो थियो — धेरै दिनदेखि।
गाउँको एक कुनाबाट अर्काेसम्म यो खबर फैलिएपछि गोलन्जोर स्तब्ध भयो।
‘कोही बाँचिएको छैन कि भन्ने डर लाग्यो’वडाध्यक्ष श्रेष्ठ भन्छन्,
“सबैजना गायब भएपछि कसैले अपहरण गर्यो कि, हत्या भयो कि भन्ने आशंका उठ्यो। तर कोही पनि सन्देश छाडेर गएको छैन।”
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीको नेतृत्वमा प्रहरी टोली पुगेको छ। उनी भन्छन्,
“पशुहरू गोठमै छन्। घर सुनसान छ। तर कुनै हिंसात्मक घटना भएको स्पष्ट प्रमाण भेटिएको छैन। अनुसन्धान जारी छ।”
हायुको परिवार केही दिनदेखि सम्पर्कविहीन भएको जनप्रतिनिधिले जनाएका छन्। तर त्यो परिवारले त गाउँको चाडपर्व, मेलापात, जन्म र मृत्युसम्म बाँडेका थिए।
कसैले गाडीमा चढेको देखेको छैन, कसैले कोठा बन्द गरेको सुनेका छैन। मानौँ, उनीहरू एक झिल्को झैं रातारात हराए।
गाउँको हरेक गोठ अब उनीहरूकै कुरा गर्छ,“कहाँ होलान् हायु आमा? अनि उनका नातिनातिनीहरू?”
गोलन्जोरका बासिन्दा अहिले अपरिचित डरको छायाँमा छन्।के उनीहरू कतै सामूहिक पलायन त होइनन्? के उनीहरूलाई कसैले लगेको हो?
उत्तर छैन।
अझैसम्म पनि उनीहरू फर्किएका छैनन्। न त उनीहरूको छायाँ नै देखिएको छ।छुटेका छन् त केवल — भत्केको भान्सा, रोइरहेको कुकुर, र गाउँभरि फैलिएको गहिरो मौनता।