
एकजना मन्त्री, त्यो पनि सिधै अर्थमन्त्री! सरकारी गाडी त उनको घरको आँगनमा बिहान हावा सुँघ्न राखिएको झैं सजिएको हुन्छ। तर आइतबार बिहान बुटवलका नागरिक एकछिन अक्क न बक्क भए — अर्थमन्त्री विष्णु पौडेल ट्याक्सीमा चढेछन् !
मन्त्रीज्यू होटेलबाट निस्कनु भयो। तर पछाडि झुल्किँदै आएको सरकारी सवारीले भन्छ— यो ‘ट्याक्सी प्रयोग’ दृश्य मात्र हो, दृश्यपछाडिको नाटक छुट्टै छ।
ट्याक्सी चढ्नुभन्दा अघि मन्त्रीज्यूले के गरे?
फोन घन्टी बज्यो। उता थिइन्— देवी वाग्ले, एमालेकै पूर्व नेतृ। उनी इभी ट्याक्सी चलाउँदै, नयाँ ढंगको ‘ड्राइभिङ डेमोक्रेसी’ प्रदर्शन गर्दै थिइन्। मन्त्रीज्यूले भनिदिए,
“आज म तपाईंको ट्याक्सी चढ्छु, सवारीसाधन होइन, सन्देश चाहिएको हो!”
त्यसपछि के चाहियो र — ट्याक्सी आइपुग्यो, मन्त्री चढे। पछाडि सरकारी गाडी पनि डराएरै आएछ, हैन भने ‘क्लास डिफर’ हुने भो नि!
ट्याक्सी होइन, टिप्स पनि पाए
ट्याक्सी चढेपछि मन्त्रीज्यूले “प्रेरणा” भनेर पैसा मात्रै होइन, टिप्स पनि दिएछन्। पैसा भनेको आर्थिक सहायता हो, टिप्स भनेको ‘राजनीतिक PR’ को डोज हो।
भन्छन्— “महिलाले पनि स्टीयरिङ समात्न सक्छन्, गियर फेर्न सक्छन्, रेस दिन सक्छन् – अब त ट्राफिक जाम गरुन् भने पनि रोक्दिन!”
साथै थपे—“इन्धनको गाडीले घाटा, ट्याक्सीले भाटा !”
महिला ड्राइभरको मनको डाइरी
देवी वाग्ले खुशी थिइन् — आखिर मन्त्री आफैं ट्याक्सीमा चढ्नु कुनै सामान्य कुरा होइन।
“सधैं पुरुषले मात्र राइड बुक गर्छन्, आज मन्त्रीले नै गरिदिए!!”
उनको लक्ष्य ठूलो छ – दुई वर्षमै २५ जना महिला ट्याक्सी चालक उत्पादन गर्ने। केही वर्षअघि पुष्प खेतीबाट थालिएकी यो महिला अब ‘ड्राइभिङ फर डेमोक्रेसी’ मा लागेकी छिन्।
तर उनी भन्छिन् —“अधिकार अधिकार भन्या मात्रै हुँदैन। अब महिला पनि स्टेरिङमा, पुरुष पनि सीट बेल्ट लगाएर बस्नुपर्छ!”
यो नयाँ सोच हो कि फोटो सेसन? अब प्रश्न उठ्छ — के मन्त्रीको यो यात्रा ‘आत्मपरिवर्तन’ को संकेत हो त? कि ‘क्यामेरामा आउने हैन’ भनेर अघिल्लो रात मोबाइल चार्ज गरेको हो?