
जनकपुरधाम — मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा ऐतिहासिक उपलब्धिको संकेत दिँदै जनकपुरमा २ अर्ब ४५ करोडभन्दा बढी लागतमा अत्याधुनिक ‘विनयतारा क्यान्सर अस्पताल’ निर्माण हुने भएको छ।
विनयतारा क्यान्सर ट्रस्टले जनकपुर उपमहानगरपालिका–२५ मा करिब ३ विगाहा १३ कठ्ठा ११.५ धुर क्षेत्रफलमा २०० शय्याको विशिष्टीकृत अस्पताल बनाउन लागेको हो। हाल ट्रस्टले २५ बेडको अस्पताल सञ्चालन गरिरहेको छ।
अब क्यान्सर उपचारका लागि राजधानी धाउनु नपर्ने
ईआईए (वातावरणीय प्रभाव मूल्यांकन) प्रतिवेदन अनुसार, निर्माण हुने भवनमा एक बेसमेन्ट, भुइँतलासहित चारतले संरचना हुनेछ। अस्पतालमा निम्न विशिष्टीकृत सेवाहरू उपलब्ध हुनेछन्:
मेडिकल अंकोलोजी, सर्जिकल अंकोलोजी, हेड एन्ड नेक अंकोलोजी
ग्यास्ट्रोइन्टेरोलोजी, प्याथोलोजी, इन्टरभेन्सनल रेडियोलोजी
जेनेटिक मेडिसिन, क्रिटिकल केयर, बर्न सर्जरी
मोलीक्युलर बायोकेमेस्ट्री, इम्युनोप्याथोलोजी, स्लिप मेडिसिन आदि।
सेवा र संरचना
बाहिरंग सेवा: दैनिक ३०० जना बिरामीलाई सेवा
आकस्मिक सेवा: वर्षभरि २४ सै घण्टा, ३६५ दिन
रोजगारी अवसर:
कुल ३०६ जना
२६४ जना क्लिनिकल सेवामा
२१ जना व्यवस्थापनमा
२१ जना सहयोग सेवातर्फ
निर्माण समय: ३ वर्षभित्र
प्रस्तावित अस्पताल ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ। निर्माणपछिको लक्ष्य केवल उपचार सेवा मात्र होइन, स्वास्थ्य पर्यटन प्रवर्द्धन तथा स्थानीय रोजगारी सिर्जना पनि हो।
जनकपुरजस्ता सहरमा यति ठूलो पूर्वाधार र सेवा विस्तार हुनु, विशेषगरी क्यान्सरजस्तो जटिल रोगको उपचारमा, प्रदेशका लागि मात्र होइन, पूरै देशकै लागि उल्लेखनीय उपलब्धि हुनेछ।