
हालै सार्वजनिक भएको एक अडियोले भूमि व्यवस्थापन मन्त्रालयभित्रको गम्भीर शक्ति–दुरुपयोग र आर्थिक लेनदेनको चाङ उदाङ्गो बनाएको छ। उक्त अडियोमा कास्की मालपोत कार्यालयका उपसचिव चिरञ्जीवी पौडेललाई आकर्षक स्थानमा सरुवा गराउने सन्दर्भमा बिचौलियाहरूबीच खुलेआम लाखौँ रुपैयाँको डिल हुँदै गरेको सुनिन्छ।
अडियोमा के छ?
अडियो अनुसार उपसचिवलाई ‘विशेष ठाउँ’ मा सरुवा गराउनका लागि कुल ५३ लाख रुपैयाँसम्मको लेनदेन प्रस्ताव गरिएको छ।
बिचौलियाले उक्त डिलका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजकुमार गुप्तासँग सम्पर्क मिलाइसकेको दाबी गरेको छ।
बिचौलियाले यस्तो भनिरहेका छन्:
“पहिला बलरामले २५ लाख बुझाएको हो, बाँकी रकम अब बुझाउने हो…”
मन्त्रीको नाम स्पष्ट रूपमा उल्लेख हुने अडियोले राजनीतिक तहसम्म चलखेल भइरहेको देखाउँछ।
योजना के थियो?
कास्की मालपोत कार्यालयको जिम्मेवारी दिने योजना।
१३५ रोपनी लिची बगैँचा रहेको आकर्षक क्षेत्र हत्याउने प्रयास।
सरुवा गराउने नाममा पैसा उठाउने सेटिङ।
अख्तियार र मन्त्रालय चुप?
स्रोतका अनुसार यो अडियो उजुरीका रूपमा अख्तियारमा पुगेको छ, तर हालसम्म मन्त्री गुप्ता वा सम्बन्धित पक्षबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
यो प्रकरणले देखाउँछ—कसरी सरकारी कर्मचारीहरूको सरुवा, नियुक्ति, र पदस्थापनमा समेत करोडौँको लेनदेन चल्ने गरेको छ।
सरकार, मन्त्रालय र अख्तियारद्वारा छानबिन नहुँदा यस्ता गतिविधि झन् मौलाउँदै गएका छन्।