भारतको बिहार राज्यको राजधानी पटनामा शुक्रवार राति प्रख्यात व्यवसायी गोपाल खेमकाको मोटरसाइकलमा आएका दुई बन्दुकधारीहरूले गोली हानी हत्या गरेका छन्। घर फर्किरहेका खेमका गाडीबाट ओर्लने बित्तिकै उनीमाथि गोली प्रहार भएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

घटना पटनाको गान्धी मैदान थानाबाट करिब पाँच सय मिटर टाढा भएको थियो। परिवारका सदस्यहरूले भने घटना भएको डेढ घण्टासम्म पनि कुनै प्रहरी अधिकारी घटनास्थलमा नपुगेको आरोप लगाएका छन्। यस घटनाले स्थानीय व्यवसायीहरूमा ठूलो आक्रोश पैदा गरेको छ।


गोपाल खेमका बिहारका चर्चित र ठूला व्यवसायीहरूमध्ये एक थिए। उनी पटनास्थित मगध अस्पतालका सञ्चालक हुन्। साथै, उनको पटनामा औषधि पसलहरू, हाजीपुरमा दुई वटा कार्टुन कारखाना, र पटनाको एक्जिबिसन रोडमा पेट्रोल पम्प पनि छ। हाजीपुर औद्योगिक क्षेत्रमा उनको अर्को कारखाना छ र अन्य थुप्रै व्यवसायहरूमा पनि उनको संलग्नता छ। खेमका परिवारमा हत्याको यो पहिलो घटना भने होइन; सन् २०१८ मा उनका छोरा गुन्जन खेमकाको पनि हाजीपुरमा गोली हानी हत्या भएको थियो, जसको रहस्य अझै सुल्झिएको छैन।

गोली लागेपछि खेमकालाई मेडिवर्सल अस्पताल पुर्‍याइएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे। अपराधीहरू हतियार लहराउँदै घटनास्थलबाट फरार भएका थिए। प्रहरीले घटनास्थल नजिकको सिसिटिभी फुटेजहरूको जाँच गरिरहेको बताएको छ, तर हत्याको कारण अझै स्पष्ट हुन सकेको छैन। प्रहरीको ढिलासुस्तीप्रति परिवार र व्यवसायीहरूले आक्रोश व्यक्त गर्दै अस्पतालमा हङ्गामा गरेका थिए। खेमकाका भाइ शङ्कर खेमकाले प्रहरीमाथि गम्भीर आरोप लगाउँदै उनीहरू ड्युटीमा नभई सुतिरहेको जस्तो व्यवहार गरेको बताए।

यस हत्याले पटनाको व्यवसायी समुदायमा ठूलो त्रास फैलिएको छ। परिजनहरूले प्रहरीमाथि सामान्य नागरिक र व्यवसायीहरूको सुरक्षा गर्न नसकेको आरोप लगाएका छन्। बिहार प्रहरीका डीजीपी विनय कुमारले घटनाको अनुसन्धानका लागि विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको र चाँडै अपराधीहरूलाई पक्राउ गरिने बताएका छन्। काँग्रेस नेता प्रेम चन्द्र मिश्र र आरजेडी सांसद मनोज झाले बिहारमा ‘गुन्डाराज’ चलेको र सरकार जनताको ज्यान र सम्पत्तिको रक्षा गर्न असफल भएको आरोप लगाएका छन्। यता, सत्तापक्षका नेताहरूले भने सरकारको बचाउ गर्दै घटनालाई चुनौतीको रूपमा लिएको र चाँडै नतिजा आउने दाबी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय