भ्रष्टाचार अभियोगमा नेपाली सेनाका सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की बर्खास्त भएका छन् । बिहीबार नेपाली सेनाको सैनिक विशेष अदालतले कल्याणकारी कोषमा उनीहरूले भ्रष्टाचार गरेको ठहर गर्दै बर्खास्त गर्ने फैसला सुनाएको हो ।

नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार सैनिक अनुशासन र आचरणविरूद्ध काम गरेकाले उनीहरूलाई बर्खास्त गरिएको हो । सैनिक ऐन २०६३ को दफा १०१ अनुसार दुई जनालाई सरकारी सेवामा अयोग्य नठहरिने गरी पदबाट हटाउने फैसला भएको उनले बताए । ‘अपचलन भएको रकम असुल गर्ने निर्णय पनि भएको छ,’ बस्नेतले भने ।


सैनिक कल्याणकारी कोषको दुई करोड २१ लाख ८५ हजार ५१५ रूपैयाँ अपचलन गरेको भन्दै सहायक रथी खड्का र मेजर कार्कीविरूद्ध सेनाले कोर्ट अफ इन्क्वायरी गठन गरी छानबिन अघि बढाएको थियो । छानबिनपछि सैनिक अदालतले उनीहरूलाई दोषी ठहर गरी बर्खास्त गरेको हो । तत्कालीन समयमा बोधराज कार्की सेनानी र रोशन खड्का तत्कालीन प्रमुख सेनानीको रूपमा कार्यरत थिए।

उनीहरूले कल्याणकारी कोषमा हुँदा मिलेमतो गरी २०७४ कात्तिक १३ गतेदेखि २०७५ भदौ २६ गतेसम्म १४४ वटा चेकबाट एक करोड ७४ लाख २१ हजार ३२९ रूपैयाँ भुक्तानी लिएको खुलेको थियो । त्यस्तै, त्यसअघि २०७३ फागुन ९ गतेदेखि २०७५ असोज १७ गतेसम्मको ४० वटा चेकबाट ४७ लाख ६४ हजार १८५ रुपैयाँ अपचलन गरेको अनुसन्धानमा खुलेको हो ।

यही घटनामा तत्कालीन सेनानी लक्ष्मण अधिकारी र पूर्वजमदार आत्मराम थापा पनि मुछिएका थिए । उनीहरू दुई जनाले भने अवकाश पाइसकेकाले सेनाले सैनिक ऐन आकर्षित नहुने भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंलाई गत चैत ३१ गते पत्राचार गरी अनुसन्धान गर्न अनुरोध गरेको थियो ।

थापालाई पक्राउ गरिए पनि अधिकारी फरार छन् । थापालाई वैशाख २८ गते काठमाडौं जिल्ला अदालतको दिवाकर भट्टको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । अधिकारीले बिदामा सहुलियत, पेट्रोलको कुपन तथा क्यान्टिनमा खाजा खाएको पैसा तिरिदिने गरेकाले रकम घोटालामा सहयोग गरेको बयान जमदार थापाले सरकारी वकिलसमक्ष दिएका थिए । थापा २०७३ सालदेखि २०७५ सालसम्म सैनिक कल्याणकारी निर्देशनालयमा कार्यरत थिए ।

अधिकारीले नाम सूची तयार गर्ने र त्यस बमोजिमका चेकहरू तयार गरी रकम मिलाएको आरोप उनीहरूमाथि थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय