
चिनिया पुरुषले नेपाली युवती प्रयोग गरेर ललितपुरमा धन्दा चलाउने गरेको खुलाशा भएको छ । ति चिनिया नागरिकले नेपाली युवतीलाई प्रयोग गरि डेटिङ एपमार्फत अनलाइन डेटिङ स्क्याम तथा क्रिप्टो कारोबार गर्ने गरेको पाईएको हो ।
गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा छ चिनियाँ नागरिकसहित ५२ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरूमा चीनको गाङदोङ प्रान्तका झाङ लुन, चेन जीहाओ, लिन डे, सु झेङ, लिउ झेउन र झु लिङहु रहेका छन्।
ललितपुर महानगरपालिका ४ वालिफल स्थित दमकल चोकमा रहेको एक घर भाडामा लिई सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी प्रालि दर्ता गरी गैर कानुनी रूपमा कल सेन्टर र मेटो डेटिङ एप सञ्चालन गरी कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ।
चिनियाँहरूले कल सेन्टर र सफ्टवेयर कम्पनी सञ्चालन गर्ने नाममा सो घर भाडामा लिएका हुन् । ‘मेटो’ नामको डाटिङ एप मार्फत उनीहरूले युवतीहरू प्रयोग गरेर ठगी धन्दा समेत चलाएको अनुसन्धानबाट थाहा भएको छ।
उनीहरूको साथबाट स्रोत नखुलेको १३ लाख ९९ हजार ९५०, ल्यापटप सात थान र मोबाइल ५४ थानसमेत बरामद गरिएको प्रहरीको भनाइ छ । पक्राउमध्ये छ जना चिनियाँ नागरिकमाथि अभौतिक मुद्रासम्बन्धी मुद्दा दर्ता गरी अन्य ४६ जनामाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।