
बालिका बलात्कार गरेर गर्भवती बनाउने माओवादी केन्द्रको सहायक संगठन वाईसीएलका रूकुम पश्चिमको चौरजहारी नगरपालिका इन्चार्ज रेशम केसी पक्राउ परेका छन् ।
जाजरकोटकी एक १७ वर्षीया किशोरीको जाहेरीमा वाईसीएलको कर्णाली प्रदेश कमिटी सदस्यसमेत रहेका केसी गएराति सानीभेरी गाउँपालिकाको एक होटेलबाट पक्राउ परेका हुन् ।
रूकुम पश्चिम प्रहरी प्रमुख प्रमेश विष्टका अनुसार किशोरीले दुई महिना पहिले उनीविरूद्ध प्रहरीमा किटानी जाहेरी दर्ता गरेकी थिइन् । जाहेरीमा रेशमले २०७९ सालमा चौरजहारीको एक होटेलमा लगेर बलात्कार गर्दा गर्भ बसेर छोरीको जन्म भएको समेत उल्लेख छ ।
पहिले विभिन्न आश्वासन दिएर उजुरी दिनबाट रोके पनि आश्वासन पूरा नगरेपछि युवतीले उजुरी दिएकी हुन् । पक्राउ परेका केसीलाई म्याद थप गरेर अनुसन्धान अघि बढाइने बताईएको छ ।
स्रोतका अनुसार बलात्कारपछि गर्भ बसेको जानकारी पाएपछि केसीले गर्भ पतन गराउन खोजे पनि किशोरीले मानेकी थिइनन्। छोरीको जन्म भएपछि क्षेत्रीले सबै खर्च व्यवस्थापन गर्छु। मुद्दा मामिला नगर भन्दै रोक्दै आएका किशोरीको आरोप छ।