
हेइटीका पूर्व मेयरलाई अमेरिकामा ९ वर्षको जेल सजाय सुनाइएको छ । हेइटीको सानो सहरका पूर्व मेयर जीन मोरोज भिलिएनालाई अमेरिकी आप्रवासन कानून उल्लंघन गरेको अभियोगमा ९ वर्षको जेल सजाय सुनाइएको हो ।
अमेरिकी अदालती कागजातअनुसार उनले आफ्ना राजनीतिक विरोधीहरूमाथि अत्याचार, हत्या र यातना गरेको विवरण लुकाएर ग्रीन कार्ड लिएको प्रमाणित भएको हो ।
५३ वर्षीय भिलिएनालाई बोस्टनको मुख्य जिल्ला न्यायाधीश एफ डेनिस सेयलरले सजाय सुनाएका हुन् । मार्चमा जूरीले उनलाई अमेरिका भित्र प्रवेशका लागि गरिएको “सबैभन्दा गम्भीर प्रकारको आप्रवासन धोखाधडी” गरेको भन्दै दोषी ठहर गरेको थियो।
अभियोजन पक्षका अनुसार भिलिएनाले सन् २००८ मा अमेरिकी भिसा पाउँदा “म कुनै पनि गैर न्यायिक हत्या वा हिंसात्मक कार्यमा संलग्न छैन” भनेर फारममा झुटो विवरण दिएका थिए।
भिलिएना सन् २००६ मा हेइटीको ग्रामीण सहर लेस आइरोसको मेयर चुनिएपछि राजनीतिक विरोधीहरूलाई यातना दिने, अंगभंग गराउने र हत्या गराउने गतिविधिमा संलग्न थिए ।
उनीमाथि सन् २०१७ मा अमेरिकी टर्चर भिक्टिम र्पोटेक्सन एक्ट अन्तर्गत नागरिक मुद्दा दायर गरिएको थियो । उक्त ऐन अनुसार जब आफ्नै देशमा न्यायको विकल्प सकिएको हुन्छ, त्यस्ता व्यक्तिहरूविरुद्ध अमेरिका भित्रै मुद्दा चलाउन सकिन्छ ।
तीन हेइटी नागरिक डेविड बोनिफेस, जुडर्स इसेमे, र निसाज मार्टियरले भिलिएनाविरुद्ध मुद्दा दायर गरेका थिए । २०२३ मा अमेरिकी अदालतले भिलिएनालाई ती तीन व्यक्तिलाई १ करोड ५५ लाख अमेरिकी डलर क्षतिपूर्ति तिर्न आदेश दिएको थियो।
सन् २००७ मा भिलिएनाले हतियारधारी समुह लिएर डेविड बोनिफेसको घरमा आक्रमण गरे र उनका दाजुलाई कुटपिट र गोली हानी हत्या गरेको आरोप छ ।