
अमेरिकाको भर्जिनियामा मृत भेटिएका एकैपरिवारका ४ नेपालीको दाहसंस्कारका लागि गोफण्डमी सुरु गरिएको छ । एनआरएनए भर्जिनिया च्याप्टरले ५० हजार डलरको लक्ष्यसहित सुरु गरेको गोफण्डमीमा यो समाचार तयार पार्दासम्म झण्डै १२ हजार डलर संकलन भएको छ ।
भर्जिनियाको मनासस पार्कमा गत बिहीबार राति प्रहरीले ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ र दुई बालबालिकालाई मृत फेला पारेको थियो । उनीहरु सबैजनालाई गोली हानिएको अवस्थामा मृत फेला पारिएको थियो । प्रहरीले यसलाई सम्भावित हत्या-आत्महत्या घटनाको रूपमा अनुसन्धान गरिरहेको छ।
यदि तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।
प्रहरीले कसले गोली चलाएको भन्नेबारे केही खुलाएको छैन । बिहीबार राति करिब १०:४० बजे लानाए लेनको ९४०० ब्लकमा रहेको तलको अपार्टमेन्टमा बोलाइएको र घटनास्थलमा पुग्दा चारै जनाको मृत्यु गोली लागेर भएको देखिएको प्रहरीले बताएको थियो । घटनास्थलमा एउटा बन्दूक फेला परेको थियो । प्रहरीले चारै जनालाई मनाससको मेडिकल एक्जामिनरको कार्यालयमा लगेको थियो । यद्यपी पोष्टमार्टम रिपोर्ट भने अझै सार्वजनिक गरिएको छैन ।
मृतक सन्तोष परियारको स्थायी घर गोरखाको पालुंगटार रहेको र झण्डै ८ बर्ष अगाडि अमेरिका पहिले काठमाडौंको बसुन्धरामा बस्दै आएको पारिवारिक श्रोतले जानकारी दिएको छ । सन्तोष र अन्जुबीच अन्तरजातीय विवाह भएको र उनीहरु भिजिट भिसामा अमेरिका आएपछि एसाइलम आवेदन दिएर अमेरिकामा नै बसेको जनाइएको छ । उनीहरुको एसाइलम आवेदन अहिलेसम्म पनि विचाराधिन नै रहेको थियो ।
उनीहरुका ८ बर्षकी छोरी र २ बर्षका छोरा अमेरिकामा नै जन्मेको पारिवारिक श्रोतको भनाई छ । प्रहरीले घटनाबारे सकृय अनुसन्धान भइरहेको परिवारलाई जानकारी दिएको छ । साथै घटनाबारे थप अनुसन्धान भइरहेको भन्दै थप विवरण सार्वजनिक गरेको छैन ।