
अमेरिकी ट्रम्प प्रशासनको आप्रवासीसम्बन्धी कडा नियमको चपेटामा परेर आइतबार राति थप ३७ नेपाली स्वदेश फिर्ता (डिपोर्ट) भए । विमानस्थल अध्यागमनस्रोतले जनाएअनुसार सबै ‘डंकी रुट’ हुँदै पुगेका थिए । फर्किदा केही बोल्न चाहेनन् ।
उनीहरूको गुनासो वा उजुरी भए सुन्नका निम्ति नेपाल प्रहरीले मानव बेचबिखन अनुसन्धान व्युरोको टोलीलाई विमानस्थलमै पठाएको थियो । तर, कसैले केही भन्न चाहेनन् । प्रहरीले सबैलाई गरेको पहिलो प्रश्न थियो, ‘कसरी अमेरिका पुग्नुभयो ?’ ३७ मध्ये सबैको एउटै जवाफ थियो, डंकी रुट ।
मानव तस्करले स्थलमार्गबाट अमेरिका लैजाने बाटोलाई डंकी रुट भनिन्छ । मोटो रकम असुल गरी उनीहरूले नेपालीलाई अमेरिका छिराउने जिम्मा लिन्छन् । त्यसमध्ये कोही सकुशल पुग्छन् त कतिपय बाटैमा अलपत्र पर्ने गरेका छन् । कयौंले त्यसक्रममा ज्यानसमेत गुमाएका छन् ।
आइतबार डिपोर्ट गरिएका नेपाली सोही किसिमले अमेरिका पुगेका हुन् ।
फर्किनेहरूलाई प्रहरीको अर्को प्रश्न थियो, ‘कति पैसा खर्च गरेर, कोमार्फत जानुभयो ?’ तर, यो प्रश्नको जवाफ सबैले दिएनन् । धेरैजसोले मुन्टो हल्लाएर केही भन्न नचाहेको हाउभाउ देखाए । कतिपयले प्रश्न सुन्नासाथ आखामा टिलपिल आँसु झार्न थाले । केहीले पठाउने व्यक्तिको नाम भनेनन्, तर रकम खुलाए ।
अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार थोरैमा ४० लाख र धेरैमा ७५ लाखसम्म खर्च गरेर उनीहरू अमेरिका पुगेका थिए । फर्किनेमध्ये धेरैजसोले मुख छोपेका थिए । उनीहरू प्रहरीले फोटो खिच्ला भन्नेमा त्रासमा थिए । तर, प्रहरीले ‘जान सक्नुहुन्छ’ भन्दै उनीहरूलाई आ-आफ्नो गन्तव्य जान सहज गरेको थियो ।