
दाङको तुलसीपुरमा आफ्नै साथीको कुटपिटबाट घाइते भएका एक बालकको उपचारकै क्रममा मृत्यु भएको छ ।
यही जेठ १९ गते आफ्नै साथीको कुटपिटबाट घाइते भएका रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका घर भई अहिले तुलसीपुर–८ दूधेनामा बस्दै आएका १४ बर्षीय विराज गिरीको उपचारकै क्रममा नर्सीङहोम नेपालगञ्जमा मृत्यु भएको हो । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवास्थित सक्सेस बोर्डिङ स्कुल अगाडि मृतक गिरी र १५ वर्षीय यज्ञ वलीबीच सामान्य विवादका क्रममा झैँ–झगडा हुँदा वलीको कुटपिटबाट गिरी गम्भीर घाइते भएका त्घिए ।
घाइतेको टाउकोमा लागेको चोटका कारण बेहोस अवस्तामा रहेकाले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नेपालगञ्ज लगिएकोमा उपचारकै क्रममा नर्सीङहोममा आज बिहान ३ बजेको समयमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए । घटना लगत्तै कुटपिटमा संलग्न यज्ञ वलीलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाईएको छ ।
जेठ १९ गते साढे ५ बजेतिर विद्यालयबाट घर फर्किँदै गरेका स्थानीय १५ वर्षीय यज्ञ वली र गिरीबीच तुलसीपुर – ९ बेलुवामा कुटाकुट भएको थियो।
प्रहरी हिरासतमा रहेका वलीका अनुसार सुरुमा गिरीले उनीमाथि कुटपिट गरेका थिए । त्यसपछि आफूले गिरीलाई दुई मुक्का प्रहार गरेको उनले प्रहरीलाई दिएको बयानमा बताएका छन्।
प्रहरी अनुसन्धानअनुसार कुटाकुटपछि उनीहरु दुबै जना सँगै नजिकैको स्कुलको क्यान्टिनमा गइ पानी पिएका थिए। पानी पिएपछि गिरी एकाएक ढलेका थिए।
मुक्का प्रहार बाट गिरीको टाउकोमा भित्री चोट लागेपछि अचेत भएको हुनसक्ने प्रहरीको आकलन छ। उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज नर्सिङ होममा पठाइएको थियो। त्यहाँ उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। त्यही क्रममा बिहीबार बिहान पौने ३ बजेतिर गिरीको मृत्यु भएको प्रहरीले बताएको छ ।
उनीहरू दुबै श्री माध्यमिक विद्यालय दोघरेमा पढ्दै थिए। मृतकले रुकुममै गएर परीक्षा दिएका थिए। फेरि उनी अध्यनका लागि दाङ आए पनि भर्ना भने भइसकेका थिएनन् ।
गिरीलाई कुटपिट गर्ने यज्ञ वली प्रहरी नियन्त्रणमा छन्। वली अहिले कक्षा ९ मा अध्यनरत छन् ।
प्रहरीका अनुसार उनीहरुबीच सामाजिक सञ्जाल फेसबुकमा आपसमा गालीगलौज भएको थियो। भेट हुँदा उनीहरुबीच सोही विषयमा विवाद हुँदै कुटाकुट भएको थियो।