
पाल्पाको पाल्पाको तानसेन नगरपालिका– ७ कुनसरे आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत दिपा मंगलबार अपारान्ह बुटवलमा रहेका आफन्तको बिवाहका लागि भन्दै पाल्पाबाट बुटवल झरेकी थिइन्।
बिवाहघरमा बस्नेगरी पाल्पाबाट दुई छोरीहरु लिएर हिडेकी दिपा आफन्तको घरमा नगई पुर्वपति सुजन कोईरालासंग भेटेर गजेडी ताल घुम्न गएको खुलेको छ। उनीहरु ताल घुमेर फर्केपछि बुटवलको कालिका नगरमा रहेको एक होटलमा खाजा खान पुगेको पाईयो ईलाका प्रहरी कार्यालय बुटवलका एक अनुसन्धान अधिकृतले भने।
मास्क लगाएको अवस्थामा दुई नानीहरु सहित आउनु भएको थियो हामीले त आज घटना पछि मात्रै वहांहरु हो रहेछ भन्ने थाहा पायौं, दुई जनाले एउटा चिकेन फ्राई मम र एउटा चिकेन सि मम खानु भएको हो। बच्चाहरुले कोक फेन्टा र जुस खाएका हुन् उक्त होटलका सञ्चालकले भने।
ति प्रहरी अधिकृतका अनुसार सुजनले आफुले दिपालाई बिहानै घरबाट जान भने तर उनले अव देखि यही बस्छु भन्दै जान नमानेपछि आवेशमा आएर हत्या गरेको बताएका छन्। सुजन मानसिक रुपमा ठिकै छ उसले भनेको कति बिश्वसनीय छ अनुसन्धान हुनेछ ति अधिकृतले भने।
दिपा बस्दै आएकी घर धनी तानसेन नगरपालिका– ७ कुनसरेकी गोमा भण्डारीका अनुसार दिपा बिवाहका लागि जाने भन्दै घरबाट दिउसो दुई बजे हिडेकी थिईन्। दुवै छोरीहरु मेरै काखमा हुर्केका हुन् हिडने बेलामा ठुली चाहि छोरीको कपाल मैले बाटी दिएकी हुं त्यो नै अन्तिम काख रहेछ गोमाले रुदै भनिन्। दिपाले फर्किदा सजिलो हुन्छ भन्दै आफुले चलाउने स्कुटर तिन्टे आंप सम्म लगेर राख्छु भन्दै छोरीहरु चढाएर गएको बताईन्। गोमाका अनुसार दिपाले हिडने बेलामा पनि बिवाह भएकै आफन्तको घरमा बस्ने हो भन्दै हिडेकी थिईन्।
पाल्पाको बर्तुङ घर भएकी दीपा र प्रभास घर भएका सुजनले २०६९ साल असोजमा प्रेम विवाह गरेका थिए। त्यति बेला सुजन २३ वर्षका र दीपा २२ वर्षकी थिईन्। तर सुजनको अपराधिक कृयाकलापका कारण उनीहरुको सहयात्रा लामो भएन्। बिवाह भएको ३ महिनामै दाजुको हत्या गरेर जेल परेका सुजन जेलबाट छुटदा उनी अर्कैकी भैसकेकी थिईन्।
सुजनको परिवारको प्रभाससँगै बुटवल होराइजनचोकस्थित मिलिजुलीपथमा पनि घर थियो। विवाहपछि उनीहरू बुटवलमै बस्न थाले। बुवाआमा प्रभासमा बस्दै आए पनि उनका दुई दाजुहरू पनि बुटवलमा बस्थे।
सोही क्रममा आर्थिक विषयमा सुजनको दाजु सुदीपसँग विवाद भएपछि २०६९ पुष २३ गते २५ वर्षीय दाजुको बिभत्स हत्या गरे। आफैले दाजुलाई काटेर टुक्रा टुक्रा पारेर बोरामा हाली केरावारी नजिकै लगेर फालेका सुजनले दाजुको दाजु सम्पर्कविहीन रहेकोले खोजी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएका थिए।
सुजनको निवेदनपछि सुदीपको खोजी सुरू गरेको पाल्पा प्रहरीले सुदीपको शवलाई टुक्रा टुक्रा बनाएर बोरामा हाली फालेको अवस्थामा पाल्पाको केराबारीमा फेला पारेको थियो। अनुसन्धान गर्दै जाँदा सुजनले नै दाजुको हत्या गरेको पुष्टि भएपछि पुस २७ गते उनी कारागार चलान भएका थिए।
विवाह गरेको तीन महिनामै सुजन दाजुको हत्या अभियोगमा कारागार चलान भएपछि दीपाले सुजनसँग सम्बन्ध विच्छेदको प्रक्रिया अगाडि बढाएकी थिइन्। प्रहरीका अनुसार सुजन कारागारमा रहेकै बखत २०७३ सालमा उनीहरूबीच सम्बन्ध विच्छेद भएको थियो।
सुजनसँग सम्बन्ध विच्छेद गरेकी दीपाले सोही वर्ष नवलपरासीको कावासोतीका शङ्कर ढकालसँग विवाह गरेकी थिइन्। शंकरले पनि पूर्वपत्नीसँग सम्बन्ध विच्छेद गरी दीपासँग विवाह गरेका थिए।
विवाहपछि केही वर्ष घरमै बसेका शंकर एक वर्ष पहिले रोजगारीका लागि दुबई गएका थिए। दीपा पनि तानसेन नगरपालिका वडा नं. ७ कुनसरेस्थित आधारभूत स्वास्थ्य केन्द्रमा करारमा कार्यरत थिइन्। दुई छोरीहरू पनि उनीसँगै तानसेनमा बसेर पढ्दै थिए।
परिवारका अनुसार शंकर वैदेशिक रोजगारीमा रहेको र दीपा पनि तानसेनमा काम गरिरहेकोले चाडपर्व, विवाह व्रतबन्ध लगायतका कार्यहरूमा मात्र घरपरिवारसँग भेटघाट र आवतजावत हुने गर्थ्यो।
बुधवार बुटवलमा दीपाको भान्जीको विवाह हुँदै थियो। सोही विवाहको लागि उनी मङ्गलवार नै पाल्पाबाट बुटवल आएकी थिइन्। कावासोतीमा रहेका उनका आफन्तहरू पनि मंगलबारदेखि नै बुटवलमा रहेका थिए। दीपाले आफू मंगलबार नै बुटवल आएको कुरा माइतीतर्फ र घरतर्फका कसैलाई पनि जानकारी गराएकी थिइनन्।
विवाहको लागि बुटवल आएकी दीपा पूर्वपतिको घरमा कसरी पुगिन् भन्नेमा उनको परिवार अनविज्ञ छ।
दीपाका देवर रामचन्द्र ढकालले विवाहमा आएकी भाउजू सम्बन्ध विच्छेद भइसकेको व्यक्तिको घरमा कसरी पुगिन् भन्नेमा आश्चर्य मानिरहेको बताए।
‘भाउजूले तीन चार दिन पहिले भान्जीको विवाहमा बुटवल आउँछु भन्नुभएको थियो। त्यसपछि कसैसँग कुराकानी भएको थिएन। हिजो साँझसम्म नआएपछि बिदा पाउनुभएन या आज बिहानसम्म आउनुहुन्छ होला भनेका थियौं। एक्कासि अर्कैको कोठामा हत्या भयो भन्ने सुन्दा छाँगाबाट खसेजस्तै भएका छौं,’ उनले भने।
दीपाका जेठाजु केशव ढकाल पनि यो घटना कसरी भयो भन्नेमा आफूहरू अचम्मित परेको बताए।
‘हामीलाई त बुहारी बुटवलमा आएको कुरा पनि थाहा थिएन, दुई वटी अबोध छोरीहरूको पनि वीभत्स हत्या भयो,’ उनले भने।
केशवले दुबईमा रहेका भाइ शङ्करलाई घटनाबारे कसरी जानकारी गराउने भन्ने सोच्नै नसकिएको बताए।
‘यस्तो घटना भाइलाई कसरी थाहा दिने हो सोच्नै सकिएको छैन। सम्बन्ध विच्छेद भएको व्यक्तिको घरभित्र आएर हत्या भएको छ,’ केशवले भने।
तिलोत्तमा ड्राइभर टोल बस्ने दीपाकी दिदी मञ्जु अर्याल पनि बहिनी सुजनको घरमा कसरी गइन् भन्नेमा अनविज्ञ छिन्।
दीपासँग मञ्जुको सोमबार सामान्य कुराकानी भएको थियो। सन्चोविसन्चोबारे सोधपुछ गरेपछि उनीहरूले फोन राखेका थिए।
आफू मंगलबार बुटवल आउनेबारे दिदीको छोरी भतिजीलाई जानकारी गराएकी दीपाले दिदीलाई भने बुटवल आउनेबारे कुनै जानकारी गराएकी थिइनन्।
‘मलाई त बहिनी बुटवल आउँदै छे भन्ने कुनै जानकारी थिएन, छोरीले भनेपछि कहाँ आइपुगिन् भनेर हिजो दुई पटक फोन गरे पनि लागेको थिएन। आइनपुगेको होला भन्ने लाग्यो। बिहान एक्कासि सुजनले बहिनी र छोरीहरूको हत्या गर्यो रे भन्ने सुनेपछि आएकी हुँ,’ उनले भनिन्।
प्रहरीका अनुसार २०६९ सालमा जिल्ला कारागार पाल्पा चलान भएका सुजन २०७८ असोज ३ गते शेर बहादुर देउवा नेतृत्वको तत्कालीन गठबन्धन सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाएपछि कास्की कारागारबाट जेलमुक्त भएका थिए।
राष्ट्रपति भण्डारीबाट आममाफी पाएर जेलमुक्त भएपछि भने उनले होराइजनचोकस्थित मिलिजुली पथमा हस्तकलाका सामग्रीको पसल सञ्चालन गर्दै आएका थिए। दुई तले घरमा एक्लै बस्दै आएका उनले बाँसबाट बनाइएका विभिन्न हस्तकलाका सामग्री ल्याएर घरबाटै थोकमा बिक्री वितरण गर्दै आएका थिए।
घरमा रहँदा सुजनको राम्रै व्यवहार देखेर छरछिमेकीलाई पनि उनी सुध्रिएको लागिरहेको थियो। सुजनकी छिमेकी पद्मा राना कुँवरले बुधबार बिहान पनि पौने सात बजेतिर घर बाहिर भेट भएका सुजनले आफूसँग राम्रोसँग कुराकानी गरेर घर भित्र गएको बताइन्।
‘पौने सात बजेतिर मसँग राम्रै कुराकानी गरेका थिए। म पूजा गर्न भन्दै घर भित्र गएँ, एकछिनमा प्रहरी आएपछि म त अचम्म परेँ। प्रहरीले पहेँलो फित्ताले घर घेरेपछि पनि केहीबेर पसलको विषयमा केही भएर होला भन्ने लाग्यो तर तीन जनाको हत्या गरेको भन्ने सुनेपछि छाँगाबाट खसेजस्तै भएँ,’ पद्माले भनिन्।
स्थानीय रिम श्रेष्ठले पनि बिहान पाँच बजेतिर घरबाहिर सरसफाइ गरिरहेको अवस्थामा सुजनलाई देखेका थिए।
प्रहरीसँगको सोधपुछमा सुजनले दीपासँग विगत १ वर्षदेखि आफू नियमित सम्पर्कमा रहेको बयान दिएका छन्।
एक वर्षदेखि नियमित फोन सम्पर्क र भेटघाट गर्दै आएको र मंगलबार पनि बुलेट मोटरसाइकल चढेर रूपन्देहीकै गजेडी तालमा घुम्न गई साँझ बुटवलको एउटा होटलमा खाजा खाएर घर फर्किएको उनले प्रहरीसामु बताएका छन्।
बुधबार बिहान दीपालाई घरबाट जान भने पनि उनले आफू नजाने भनेपछि हत्या गरेको सुजनले प्रहरीलाई बताएका छन्।
स्थानीयले पनि पछिल्लो केही समयदेखि दीपा सुजनको घरमा बेलाबेलामा आउने जाने गर्न थालेको देखेका थिए। स्थानीय पद्मा राना कुँवरले मुखमा मास्क लगाएर दीपा सुजनको घरमा आउनेरजाने गरेको आफूले धेरै पटक देखेको बताइन्।
मंगलबार सुजनको घरमा दीपा आएको भने पद्मा र अन्य छिमेकी कसैलाई पनि पत्तो थिएन। घरभित्र तीन जनाको हत्या गरेका सुजन बिहान छिमेकीहरूसँग कुराकानी गर्दा त्यसबारे कुनै छनक दिएका थिएनन्।
प्रहरीका अनुसार सुजनको घरमा केही दिनदेखि भान्साको मर्मत काम भइरहेको थियो। बुटवलकै अर्जुन रञ्जनले भान्साको मर्मतको काम गरिरहेका थिए। बुधबार बिहान पनि सुजनले मोटरसाइकलमा राखेर भान्सा मर्मतको लागि अर्जुनलाई घरमा ल्याएका थिए।
घरभित्र पस्दा विस्तारामा तीन जनाको वीभत्स अवस्थामा शव देखेपछि अर्जुनले नै घटनाबारे खबर गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए।
प्रहरी नायब उपरीक्षक रानाका अनुसार सुजनले हतौडा र चक्कु प्रहार गरी सुतिरहेको विस्तारामै तीन जनाको हत्या गरेका हुन्। दीपाको घाँटीमा चक्कुले काटेको र टाउकोमा ह्यामर प्रहार गरेको ठूलो चोट भेटिएको छ भने बालिकाहरूको घाँटीमा चक्कुले काटिएको छ।