
बिहेमा उपहारको रूपमा पार्सलभित्र बम राखेर पठाएर बेहुलाको हत्या गरेको आरोपमा एक व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाइएको छ । बहुचर्चित पार्सल बम प्रकरणमा स्थानीय अदालतले बुधबार अभियुक्त पुंजीलाल मेहरलाई आजीवन कारावासको सजाय सुनाएको हो ।
फेब्रुअरी २३, २०१८ मा ओडिशाको बलांगीर जिल्लाको पटनागढ शहरमा भएको बम विस्फोटमा सफ्टवेयर इन्जिनियर सौम्य शेखर साहू (२६) र उनकी हजुरआमा जेमामणि मेहरको मृत्यु भएको थियो भने उनकी श्रीमती रीमा गम्भीर घाइते भएकी थिइन्।
यो घटना हुनुभन्दा पाँच दिनअघि मात्र सौम्य शेखर र रीमाको विवाह भएको थियो। सौम्य शेखरको विवाहको केही दिनपछि उनको घरमा उपहार पठाइएको थियो। जब श्रीमान श्रीमतीले यो उपहारको प्याकेट खोले, त्यो विस्फोट भयो। यो घटना ‘वेडिङ बम’ केसको रूपमा प्रसिद्ध भयो।
फैसलापछि सरकारी वकिल चित्तरञ्जन कानुनगोले भने ‘अदालतले मेहरलाई भारतीय दण्ड संहिताको धारा ३०२ (हत्या), ३०७ (हत्याको प्रयास), २०१ (प्रमाण लुकाउने) र भारतीय विस्फोटक पदार्थ ऐनको धारा ३ र ४ अन्तर्गत दोषी ठहर गर्दै दुई आजीवन कारावास, दुई दश वर्षको सजाय र एक सात वर्षको सजाय सुनाएको छ।’
यी सबै सजायहरू सँगै चल्नेछन्। अदालतले मेहरलाई विभिन्न धाराहरू अन्तर्गत १.७० लाख रुपैयाँ जरिवाना पनि लगाएको छ।
कानुनगोले भने, “अदालतले यो जघन्य अपराध हो भनेर स्वीकार गर्यो, तर यो ‘दुर्लभमध्ये दुर्लभ’ घटना हो भन्ने सरकारको तर्कलाई स्वीकार गर्न अस्वीकार गर्यो। अदालतले मेहरलाई मृत्युदण्ड दिन गरिएको माग अस्वीकार गर्यो र उनलाई आजीवन कारावासको सजाय सुनाइयो।”
यो बम विस्फोट घटना २३ फेब्रुअरी २०१८ मा बलांगीर जिल्लाको शान्त शहर पटनागढमा भएको थियो। २६ वर्षीया सौम्य शेखर साहु र रीमाको विवाह पाँच दिन अघि मात्र भएको थियो। दुवै जना खाजा तयार गर्ने तयारी गरिरहेका थिए, त्यतिकैमा उनीहरूको घरमा एउटा पार्सल पुग्यो।
त्यसमा सौम्यको नाम लेखिएको थियो र यो पटनागढबाट २३० किलोमिटर टाढा छत्तीसगढको राजधानी रायपुरबाट पठाइएको थियो। सौम्यले उपहारमा बाँधिएको डोरी तान्ने बित्तिकै ठूलो विस्फोट भयो।
त्यतिबेला सौम्य भान्सामा थिए । विस्फोटमा उनी र उनकी हजुरआमाको मृत्यु भयो भने रीमा (त्यतिबेला २२ वर्षीया) गम्भीर घाइते भइन्।
लामो अनुसन्धान पछि प्रहरीले स्थानीय कलेजका शिक्षक तथा पूर्व प्रधानाध्यापक पुंजीलाल मेहर (त्यतिबेला ४९ वर्ष) लाई पक्राउ गर्यो। सौम्यकी आमाले पढाउने ठाउँमा मेहरले काम गरेका थिए ।
यस मुद्दाका अनुसन्धानकर्ताहरूले बीबीसी संवाददाता सौतिक विश्वासलाई बताएअनुसार मेहर सौम्यको परिवारसँग ईर्ष्यालु थिए र उनले विस्फोटको योजना सावधानीपूर्वक बनाएका थिए ।
उनले यो पार्सल रायपुरबाट नक्कली नाममा पठाएका थिए। उनले यो पार्सल कुरियर सेवा मार्फत पठाएका थिए। यो प्याकेट बसबाट ६५० किलोमिटर यात्रा गरेपछि बालाङ्गीर आएको थियो।
यस बीचमा यो धेरै हातबाट अगाडि बढ्यो । अनुसन्धानकर्ताहरूले यो देशमै निर्मित बम भएको र जुटको धागोमा बाँधिएको बताएका थिए। बम प्याकेट खोल्ने बित्तिकै विस्फोट भयो। बम राखिएको प्याकेट पठाउनेको नाम एसके शर्मा लेखिएको थियो।
पार्सल रायपुरबाट पठाइएको थियो। जब प्रहरीले कुनै सुराग फेला पारेन अनुसन्धानकर्ताहरूले हजारौं फोन रेकर्डहरू खोतले र लगभग १०० जनालाई सोधपुछ गरे।
यसमा रीमाको इन्गेजमेन्ट पछि उनलाई धम्की दिने व्यक्ति पनि समावेश थियो। तर यसबाट पनि प्रहरीले कुनै सफलता पाएन। त्यसपछि सोही वर्षको अप्रिलमा प्रहरी प्रमुखलाई एउटा बेनामी पत्र पुग्यो।
पत्रमा बम पार्सलमा पठाइएको दाबी गरिएको थियो जसमा पठाउनेको नाम एसके शर्मा नभई एसके सिन्हा लेखिएको बताइएको थियो थियो। पत्रमा ‘विश्वासघात’ सजायस्वरूप र पैसाको लागि हत्या गरिएको संकेत गरिएको थियो।
उक्त पत्रमा ‘तीन जनाले यो हत्याको योजना बनाएको’ दाबी गरिएको थियो र अब उनीहरू प्रहरीको पहुँच बाहिर पुगिसकेको भनिएको थियो ।
त्यसमा बेहुलाको धोका र पैसा प्राप्त गर्ने उद्देश्य (तिरस्कृत प्रेमी वा सम्पत्ति विवादलाई संकेत गर्दै) उल्लेख गरिएको थियो। पत्रमा प्रहरीले निर्दोष मानिसहरूलाई दुःख दिन बन्द गर्नुपर्छ भनिएको थियो। यो पत्रले अनुसन्धानको दिशा परिवर्तन गर्यो।
त्यतिबेला अरुण बोथरा ओडिशा अपराध शाखाका प्रमुख थिए। उनले पार्सल रसिदमा लेखिएको नाम सही तरिकाले नपढेको याद गरे। त्यहाँ लेखिएको नाम शर्मा जस्तो होइन, सिन्हा जस्तो देखिन्थ्यो ।
सबैभन्दा महत्त्वपूर्ण कुरा यो थियो कि पत्र लेख्ने व्यक्तिलाई यो थाहा थियो। बम राखिएको पार्सल पठाउने व्यक्तिलाई मात्रै यस्तो कुरा थाहा हुन सक्थ्यो। अब प्रहरीलाई पक्का भयो कि संदिग्ध व्यक्ति आफैंले पत्र पठाएको हो।
“यो स्पष्ट थियो कि पार्सल पठाउने व्यक्तिलाई आफ्नो अपराधको बारेमा राम्ररी थाहा थियो,” बोथराले त्यतिबेला बीबीसीलाई भने ‘उनी हामीलाई भन्न चाहन्थे कि यो अपराध कुनै स्थानीय व्यक्तिको काम होइन। उनी हामीलाई भन्न चाहन्थे कि यो षड्यन्त्र तीन जनाले रचेका थिए। उनी गम्भीरतापूर्वक लिइयोस् भन्ने चाहन्थे। त्यसैले उनले हाम्रो गल्ती औंल्याएर हामीलाई बहकाउन खोजिरहेका थिए।’
तर सौम्य शेखरकी कलेज शिक्षिका आमाले आफ्ना सहकर्मी (मेहेर) को हस्तलेखन र लेखन शैली चिनिन् । वास्तवमा केही समय अगाडि सौम्यकी आमाका कारण मेहरले आफ्नो पदबाट राजीनामा दिनुपरेको थियो ।
प्रहरीले सुरुमा व्यावसायिक प्रतिद्वन्द्विताको सिद्धान्तलाई अस्वीकार गरेको थियो तर पछि यसलाई स्वीकार गर्नुपर्यो। मेहरमाथि प्रहरीको शंका अब पुष्टि भयो।
पक्राउ परेपछि मेहरले सुरुमा बहाना बनाउँदै उनलाई पत्र लेख्न बाध्य पारिएको दाबी गरे । यद्यपि, पछि उनले आफ्नो अपराध स्वीकार गरे।
उनले दीपावलीको समयमा पटाका जम्मा गरेको, त्यसबाट बारुद निकालेको र त्यसपछि त्यसबाट बम बनाएर रायपुरबाट कुरियर मार्फत सौम्यको घरको ठेगानामा पठाएको बताए।
उनले प्रहरीलाई धोका दिन आफ्नो फोन घरमै छोडेको आरोप छ। उनले रेलको टिकट पनि किनेनन् किनभने उनलाई सीसीटीभी क्यामेराले कैद गर्न सक्थ्यो। मेहरले सौम्याको विवाह समारोह र त्यसपछि उनको अन्त्येष्टिमा पनि भाग लिएका थिए ।
यद्यपि, सौम्य शेखरकी आमा र बुबाले अदालतको निर्णयप्रति सन्तुष्टि व्यक्त गरेका छन् तर उनीहरूले यो निर्णय विरुद्ध उच्च अदालतमा अपील गर्ने वा नगर्ने भन्ने कुरा स्पष्ट पारेका छैनन्।
सौम्या शेखरका बुबा रवीन्द्र कुमार साहूले आफ्नो वकिलसँग यस विषयमा छलफल गरेपछि निर्णय लिने बताए। तर, उनकी श्रीमती संयुक्ताले भनिन्, “यदि तल्लो अदालतको फैसला विरुद्ध पुंजी लाल उच्च अदालत गए भने हामी पनि जानेछौं।”
सम्पूर्ण अनुसन्धान ओडिशा अपराध शाखाका तत्कालीन प्रमुख अरुण बोथराको निरीक्षणमा गरिएको थियो। अरुण बोथराले यस निर्णयप्रति सन्तुष्टि व्यक्त गरेका छन्।
उनले भने, “यस मुद्दामा न त कुनै प्रत्यक्षदर्शी थियो न त कुनै ठोस प्रमाण नै। सम्पूर्ण मुद्दा परिस्थितिजन्य र फोरेन्सिक प्रमाणमा आधारित थियो। त्यसैले, यो हाम्रो लागि ठूलो सफलता हो।”