
पाल्पाको तानसेन नगरपालिका-७ (साविक वडा नम्बर ११) बाघखोर (प्रवास) पुर्ख्यौली घर भई बुटवलमा बस्दै आएका सुजन कोइराला आफ्नै दाजुको हत्या अभियोगमा कारागारमा थिए ।
असल आचरणको कारण देखाउँदै उनलाई राष्ट्रपति कार्यालयले आममाफी दियो । पूरा कैद भुक्तान नगरी उनी जेलमुक्त भए ।
उनै सुजनले जेलमुक्त भएको एक वर्ष नबित्दै बुधबार राति डिभोर्सी पत्नी ३४ वर्षीया दीपा बस्यालसहित अबोध दुई बालिका ७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानीलाई आफ्नै घर बोलाएर एउटै बेडमा नृशंस हत्या गरे ।
प्रेम विवाह भएको ४ महिनामै आफ्नै सहोदर दाइ सुधीरको हत्या गरी जेल चलान भएपछि दीपाले सुजनसँग सम्बन्धबिच्छेद गरेकी थिइन् । त्यसपछि दीपाले कावासोतीका शंकर ढकालसँग दोस्रो विवाह गरेकी थिइन् ।
शंकर अहिले रोजगारीका सिलसिलामा यूएईमा छन् । दीपासँगै हत्या गरिएका दुई छोरी ढकालतर्फका हुन् ।
दीपा पाल्पाको तानसेनमा स्वास्थ्यकर्मी थिइन् । उनी दुई छोरीसहित बुटवलमा आफन्तको विवाहमा आएको थाहा पाएर सुजनले आफ्नो घरमा बोलाएका थिए ।
जेलमुक्त भए लगत्तै सुजनले दीपासँग पुनः फोन सम्पर्क गर्ने गरेको खुलेको छ । सुजनले दीपाका आफन्तलाई मारिदिनेसम्मको धम्की दिँदै आफूकहाँ आउन दबाब दिने गरेको स्थानीयहरू बताउँछन् ।
सुजन बुटवल उपमहानगरपालिका-११ होराइजन स्कुल नजिकै मिलिजुलीपथस्थित टिनको छानोसहितको एकतले घरमा बस्दै आएका थिए । ‘सुजन निवास’ लेखेको उक्त घरमा उनले जेलमा बनाएका हस्तकलाका सामग्रीले भरिएको छ ।
जेल सरेको सर्यै
आफ्नै दाजुको हत्या गरेको अभियोगमा २७ पुस २०६९ मा पाल्पा कारगार पुगेमा सुजन २७ असार २०७१ मा सिन्धुपाल्चोक कारागार सरुवा भएका थिए । २०७२ को भूकम्पका बेला उनी जेलबाट भागेर पाल्पामै फर्केर लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरी पुनः पाल्पा कारागारमा राखेको थियो ।
१८ फागुन २०७३ मा सुजनलाई भीमफेदी कारागार मकवानपुर सरुवा गरिएको थियो । भीमफेदी कारागारबाट पुनः १६ भदौ २०७४ मा उनलाई लमजुङ कारगार सरुवा गरिएको थियो ।
भीमफेदी कारगारका प्रमुख जीवन निरौलाका अनुसार सुजनमाथि कर्तव्य ज्यान, चोरी र भागी-भगाएको गरी तीनथरी मुद्दा थिए । ‘सुजन पटक-पटक जेल ट्रान्सफर भएको देखिन्छ । कारागारमा झै-झगडा गर्ने, अरू कैदीलाई असर गर्ने गतिविधि गर्नेलाई अन्यत्र सार्ने चलन हुन्छ,’ उनले भने ।
कारगारमा असल आचरण देखिएमा विभाग, गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपति कार्यालयमा पठाएर पछि संविधान दिवस, गणतन्त्र दिवस र प्रजातन्त्र दिवस गरी तीनमध्ये कुनै एउटा दिवसमा कैद मिनाहा भई रिहा गरिन्छ ।
तर, नेपालगञ्जका गुन्डा नाइके रिगलको रिहाइ विवादित बनेपछि गत वर्षदेखि यसरी कैद मिनाहा दिन रोकिएको छ ।
‘डिभोर्स गरेर अर्कैसँग बिहेसमेत गरिसकेकी दीपा सुजनसँग कसरी नजिकिइन् र उनको घर गइन् भन्ने खुलेको छैन,’ रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले भने, ‘घटनाको विस्तृत अनुसन्धानपछि सबै कुरा खुल्नेछ । सुजनले दीपालाई कसरी आफ्नो घरमा बोलाए भन्नेबारे अनुसन्धान भइरहेको छ ।’
दीपाकी दिदी मञ्जु अर्यालले दीपा कसरी सुजनसँग नजिकिइन् र घरमा गइन् भन्ने आफूले बुझ्न नसकेको बताइन् । ‘हामी सबै अचम्म परेका छौं । हामीलाई उनीहरू नजिकिएको थाहै थिएन,’ उनले भनिन् ।
कानुनका जानकार युवराज कँडेलले राजनीतिक दलको आबद्धताका आधारमा दलहरूले नै संरक्षण गरेर आपराधिक घटनामा दोषी ठहर भएर जेलमा रहेका व्यक्तिलाई रिहा गर्न लबिइङ गर्ने गलत परिपाटीका कारण बुटवलको घटना दोहोरिएको टिप्पणी गरे ।
‘सुजनलाई पूरै कैद सजाय भुक्तान गर्न नपर्ने गरी छिट्टै जेलबाट छुटाउँदा दुई अबोध बालिकासहित तीनजनाको हत्या भयो,’ कँडेल भन्छन्, ‘यस्तै घटना धरै भएका छन्, ती सबैको नैतिक जिम्मेवारी जसले कैद मिनाहाका लागि लबिइङ गरे उनीहरूले लिनुपर्छ र आइन्दा राजनीतिक पहुँचका आधारमा कैद मिनाहाको निर्णय रोकिनुपर्छ ।’