बुटवलमा बुधबार बिहानै कारूणिक एक घटना बाहिर आयो । कालिकानगरमा एक पुरुषले आफूसँग डिभाेर्स भइसकेकी पूर्व पत्नीसहित ७ र ४ वर्षीय दुई छोरीको हत्या गरे ।

बुटवल उपमहानगरपालिका ११ होराइजनचोकस्थित मिलिजुलीपथ घर भएका सुजन कोइरालाले पूर्वपत्नी दीपा बस्याल ढकाललाई मंगलबार घरमै बोलाएका थिए ।

करिब १२ वर्षअघि बिहे भएर केही समयमै सम्बन्धबिच्छेद गरेका पूर्वश्रीमानको घरमा बास बस्न दीपा किन गइन ? रहस्यमय छ ।

आफन्तका अनुसार सुजन आफ्नै माइला दाई सुदिप कोइरालाको २०६९ पुस २१ सालमा हत्यामा संलग्न भएसँगै जेल परेका थिए । विवाहको केही समयपछि नै श्रीमान गम्भीर अपराधमा मुछिएपछि दीपाले सम्बन्धबिच्छेद गरेर नवलपरासीका शंकर ढकालसँग बिहे गरिन् ।

पाल्पाको तानसेनमा माइती भएकी दीपा दाेस्राे बिहेपछि पनि धेरैजसो माइतीमै बस्दै आएकी थिइन् । उनी तानसेन ७ कनसुरेस्थित स्वास्थ्य चौकीमा अनमीसमेत हुन् । जागिर त्यतै भएकाले छोरीहरुलाई पनि साथै राखेकी थिइन् ।

अहिले शंकर वैदेशिक दुबईमा छन् । सुजनले दीपालाई मंगलबार आफ्नो घरमा बस्न बोलाएपछि दुई छोरीलाई साथमै लिएर कालिकानगर गएकी थिइन् ।

दीपा बुधबार बुटवलमा भान्जीको बिहे भएकाले मंगलबार नै पाल्पाबाट आएकी थिइन् तर उनी आफन्तकोमा नबसेर सुजनकोमा पुगिन् । सुजनका आफन्तका अनुसार उनीहरु मंगलबार दिउँसो नै भेट भएर पार्कमा घुम्नसमेत गएका थिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रदीपबहादुर क्षेत्रीले मंगलबार राति पूर्वपतिलाई भेट्न गएको बेला दीपा र उनको दुई छोरीको हत्या भएको जानकारी दिए ।

‘कालिकानगरका सुजनले पूर्वपत्नी ३३ वर्षकी दीपा बस्याल र उनका छोरीहरू ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानीको हत्या भएको अवस्थामा शव फेला परेको छ । कोइरालालाई पक्राउ गरेका छौं । घटना बुधबार बिहान चार बजेतिरको हो’, एसपी क्षेत्रीले भने ।

पूर्वश्रीमतीसँगको रिस फेर्न उनले दीपासँगै ती दुई बालिकाको विभत्स हत्या गरेको छिमेकी र आफन्तले बताएका छन् ।

बुटवल वडा नं ११ का कावा अध्यक्ष नकुल शाहीले सुजन र दीपाको विवादले अबोध दुई बालिकाले अकालमा ज्यान गुमाउनु दुःखद भएको बताए ।

‘त्यति पहिले सम्बन्धबिच्छेद भएका श्रीमानले बोलाएको ठाउँमा किन गएको होला छोरीहरु लिएर ?’, उनले भने ।

प्रहरीका अनुसार ‘कोइराला घरमा एक्लै बस्ने भएकाले मंगलबार राति सँगै बसेपछि बिहानपख पूर्वपत्नी र छोरीहरुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरिेएको छ ।

माइला दाइको हत्यामा जेल, भूकम्पमा कारागार भत्किएर फरारपछि पक्राउ, राष्ट्रपतिबाट कैद मिनाहाको दुई वर्षमै जघन्य हत्या

पाल्पा प्रभास स्थायी घर भई बुटवलको कालिकानगर बस्ने सुजन कोइराला ०६९ पुस २१ गते आफ्नै माइला दाई सुदिप कोइरालाको हत्यामा संलग्न भएपछि जेल परेका थिए ।

सामान्य विवादमा दाइको हत्या गरेपछि उनले आफैं प्रहरीमा पुगेर दाइ हराएको सूचना दिएपनि पछि अनुसन्धानमा उनले नै हत्या गरेको खुलेपछि जेल गएका हुन् । उनी परिवारका तीन भाइमध्ये कान्छा हुन् ।

जेठा दाई भानु र आमा पाल्पा प्रवासमै बस्छन् भने उनलाई बुटवलको घर परेपछि जेलबाट निस्केर यतै बसेका थिए । जेलमा परेपछि उनी ०७२ सालको भूकम्पको बेला सिन्धुपाल्चोक कारागार भत्किएपछि भागेर घरमा आएर बसेका थिए । पछि प्रहरीले पक्राउ गरेर लगेको आफन्तको भनाइ छ ।

पहिलेबाट आपराधिक काममा लागेका सुजनको विषयमा मावली, आफन्त कोही कसैले नाम खोलेर प्रतिक्रिया दिनसमेत अफ्ठेरो मान्छन् । उनका मामाले भने–‘त्यस्ता अपराधिको विषयमा मेरो के नाम लेख्नुहुन्छ, उसलाई जेलबाट किन छाडियो, घरमा बुढी आमा हुनुहुन्छ, उसले फेरि ३ जना मार्यो भनेर कसरी सुनाउनु, अब उसलाई आजीवन कारावासमा राखिनुपर्दछ’ उनले भने ।

सुजनका दाइ भानुका अनुसार सुजनले बिहेको केही समयमै दाइको घटनामा जेल परेपछि दीपाले केही समयपछि सम्बन्ध विच्छेद गरेकी हुन् ।

त्यसो त उनी जेलमा बस्दा आचरण सुधार गरेको मध्ये परेका थिए र त्यहाँ उनले उत्पादनमा पनि राम्रो मेहनत गरेका थिए । अहिले बाहिर निस्केपछि पनि उनले जेलमा रहेका बन्दीहरुले उत्पादन गरेका सामग्रीहरु बेच्ने व्यवसाय नै गरेका थिए ।

सुजनका छिमेकीहरुका अनुसार सबैसँग धेरै नबोल्ने तर नराम्रो केही नबोल्ने भएकाले उसको आचरण सुध्रेको लागेको थियो । छिमेकी नेत्र भट्टराईका अनुसार बाहिरी रुपमा हेर्दा समस्या केही नदेखिएकाले ठीकै होला भन्ने लागेको तर आज यस्तो घटना सुन्दा त्रसिद बनाएको छ ।

मंगलबार राति यति ठूलो घटना भएपनि बुधबार बिहानसम्म उनले घरमै बसेर सरसफाईको काम गरिरहेका थिए । घटनास्थलमा पुगेका प्रहरीका अनुसार उनले तीनै जनालाई पहिले मारेर कोठाभित्रै राखेको र पछि उनकै साथीमार्फत सूचना पाएर प्रहरी घरमा पुग्दा घरमै काम गरिरहेको अवस्थामा भेटिएका थिए ।

सुजनले पहिले हतौडाले टाउकोमा हानेर पछि चक्कुले घाँटीमा रेटेर हत्या गरेको प्रहरीको भनाई छ । अहिले दीपाका माइती पक्ष, घरतर्फ, सुजनका आफन्त प्रहरीकोमा पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय