रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदीमा दुई किशोरीको शव फेला परेको छ भने उनीहरूसँगै गएकी एक किशोरी अझै बेपत्ता रहेकी छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार बाँफिकोट गाउँपालिका–३ गरालागोठकी १४ वर्षीया उर्मिला ओली र १२ वर्षीया कल्पना ओलीको शव भाग्ले नजिकै सानीभेरी नदी किनारमा फेला परेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार उनीहरूको शव करिब ५०० मिटरको दूरीमा फेला परेको छ।
यसै घटनामा १२ वर्षीया सपना ओली भने बेपत्ता रहेकी छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तीनै जना किशोरी हिजो छिमेकीको विवाहमा गएका थिए। घर फर्किने क्रममा नदीले बगाएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
घटनास्थलमा प्रहरी निरीक्षक पुनसहितको प्रहरी टोली तथा अस्थायी प्रहरी पोष्ट छिनखेतबाट खटिएको टोली पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






