झापा क्षेत्र नम्बर ५ मा यसपटकको प्रतिनिधिसभा निर्वाचन असाधारण रूपमा चासोको केन्द्र बनेको छ। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीचको भिडन्तले सबैको नजर झापा ५ तिर छ ।
सातवटा निर्वाचनमध्ये ६ पटक जित हासिल गरेका ओलीलाई यसपटक पूर्व मेयर तथा रास्वपाका प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहले टक्कर मात्र दिएका छैनन्, चुनावी नतिजालाई नै उल्ट्याउन सक्ने संकेत देखाएका छन्।
यसविचमा सार्वजनिक विभिन्न चुनावी विश्लेषण र सर्वेक्षणले भने झापा–५ मा बालेन शाहको पक्षमा स्पष्ट माहोल देखिएको संकेत गरेका छन्। स्थानीय मतदातासँग गरिएको संवाद र अध्ययनका आधारमा बालेनले ओलीलाई पछि पार्दै जित्ने बलियो सम्भावना देखिएको उल्लेख गरिएको छ।
सेतोपाटी र लोकान्तर लगायतका स्थापित सञ्चार माध्यमहरूले गरेको स्थलगत सर्वेक्षण र मतदाता विश्लेषणका अनुसार, झापा-५ मा यसपटक परम्परागत पार्टीको ‘ह्विप’ भन्दा ‘परिवर्तनको लहर’ बलियो देखिएको छ। सेतोपाटीको चुनाव विश्लेषणमा झापा–५ का धेरै मतदाता यसपटक परम्परागत दलभन्दा नयाँ नेतृत्वतर्फ आकर्षित भएको देखिएको उल्लेख गरिएको छ। सेतोपाटीले बालेनले चुनाव जित्ने प्रक्षेपण गरेको छ ।
सेतोपाटीको विश्लेषण अनुसार, झापा ५ मा राप्रपाको भूमिका निर्णायक हुने भए पनि बालेनले स्वतन्त्र र अन्य दलका मतदाताहरूलाई पनि आफ्नो पक्षमा तान्न सफल भएका छन्। दमक नगरपालिकाका कांग्रेसका पूर्व सभापति प्रकाश प्रसाईं जस्ता प्रभावशाली स्थानीय नेताहरू रास्वपामा प्रवेश गर्नुले ओलीका लागि चुनौती थपिदिएको छ।
झापा ५ मा करिब १ लाख ६३ हजार मतदाता रहेका छन्, जसमध्ये ४० प्रतिशतभन्दा बढी मतदाता १८ देखि ४० वर्ष उमेर समूहका छन्। यही ‘युवा भोट’ नै बालेनको मुख्य शक्ति बनेको छ।
विगतमा ओलीका लागि ‘सुरक्षित किल्ला’ मानिने यो क्षेत्रमा यसपटक युवा र जेनजी मतदाताको ठूलो हिस्सा बालेनको पक्षमा उभिएको देखिन्छ। लोकान्तरको रिपोर्ट अनुसार, गौरादह र दमकका स्थानीय मतदाताहरूमा परिर्वतनको वेभ देखिएको छ ।
मतदानमा पनि बालेन लहर
१. ‘जेन-जी’ र युवाहरूको अप्रत्याशित उपस्थिति आज दमक, गौरादह र कमल गाउँपालिकाका विभिन्न मतदान केन्द्रहरूमा १८ देखि ३० वर्ष उमेर समूहका युवाहरूको लामो लाइन देखियो। सामान्यतया चुनावमा उति चासो नदिने यो वर्ग यसपटक “परिवर्तनका लागि भोट” भन्दै निकै उत्साहका साथ सहभागी भएको छ। सामाजिक सञ्जालमा बालेनले सुरु गरेको ‘मुभमेन्ट’ लाई मतदान केन्द्रसम्म उतार्न युवाहरू सफल देखिएका छन्।
२. मौन मतदाताको ‘टर्निङ प्वाइन्ट’
धेरै पाका मतदाताहरू जो खुलेर बोल्न चाहँदैनथे, उनीहरूले पनि यसपटक गोप्य रूपमा बालेनको ‘घण्टी’ चिह्नमा भोट हालेको संकेत स्थानीय पर्यवेक्षकहरूले गरेका छन्। ‘धेरै वर्षसम्म एउटै अनुहारलाई हेरियो, यसपालि केही नयाँ गरौँ’ भन्ने भावना कतिपय एमालेका पुराना समर्थकहरूमा समेत पलाएको देखिन्छ।
३. ओलीको गढमा ‘बालेन’को प्रभाव
विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ५० हजारभन्दा बढी मतान्तरले जित्ने गरेका वडा र टोलहरूमा समेत यसपटक रास्वपाका कार्यकर्ताहरू निकै सक्रिय देखिएका छन्। बालेनले घरदैलोका क्रममा व्यक्त गरेका स्थानीय एजेन्डाहरू (विशेषगरी शिक्षा र स्वास्थ्य) ले गर्दा निम्न-मध्यम वर्गीय परिवारका मतदाताहरू बालेनतिर मोडिएको देखिन्छ।
४. विदेशमा रहेका आफन्तको प्रभाव
झापा-५ बाट वैदेशिक रोजगारीमा रहेका हजारौँ युवाहरूले घरमा फोन गरेर ‘यसपालि बालेनलाई भोट हाल्न’ दबाब दिएको तथ्यहरू बाहिर आएका छन्। यसले गर्दा ग्रामीण भेगका आमाबुवाहरूको भोट समेत बालेनको पक्षमा ‘ट्रान्सफर’ भएको अनुमान गरिएको छ।
५. दमक र शहरी क्षेत्रमा वर्चस्व
शहरी क्षेत्रका मतदान केन्द्रहरूमा बालेनको पक्षमा स्पष्ट लहर देखिएको छ। दमक नगरपालिकाका विभिन्न बुथहरूमा बालेनका प्रतिनिधिहरू उत्साहित देखिनु र विपक्षी दलका प्रतिनिधिहरूमा केही निराशा देखिनुले पनि माहोल कुन दिशामा जाँदैछ भन्ने प्रष्ट पार्छ।





