निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेनाले वीरगन्जमा सञ्चालन गरेको विशेष सर्च अभियानका क्रममा तीन जना पक्राउ परेका छन्। शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानलाई सुरक्षा निकायले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

गएराति करिब २ बजे श्रीजंग गण वीरगन्जको नेतृत्वमा वीरगन्ज महानगरपालिका–१६ इनर्वा क्षेत्रमा विशेष सर्च अपरेसन सञ्चालन गरिएको थियो। सो क्रममा धार्मिक द्वन्द्व फैलाउने उद्देश्यले गतिविधि गरिरहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिइएको हो।



पक्राउ पर्नेमा वीरगन्ज–१६ निवासी कृष्ण यादव, रोहित पटेल र अवजित यादव रहेका छन्। उनीहरूको साथबाट नौ थान सुतली बम तथा सेतो रङको पाँच वटा तार बरामद गरिएको श्रीजंग गणका उपसेनानी विकास मरहठ्ठाले जानकारी दिएका छन्।

उनका अनुसार निर्वाचनको समयमा कुनै पनि प्रकारको साम्प्रदायिक वा अराजक गतिविधि हुन नदिन सेना पूर्ण रूपमा सतर्क अवस्थामा रहेको छ।

सुरक्षा निकायले बरामद गरिएका सामग्रीको प्रकृति हेर्दा धार्मिक सद्भाव खलबल्याउने तथा निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने उद्देश्य देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ। पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय