कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई समूहबीच झडप भएको छ। झडप नियन्त्रणमा लिनका लागि प्रहरीले ६ राउन्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी नरेन्द्र चन्दले जानकारी दिए।

झडपका क्रममा दुई जना प्रहरी पनि घाइते भएका छन्। घाइते हुनेमा असई डबल साउद र इन्सपेक्टर बलराम पाण्डे रहेका छन्। उनीहरूको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।



प्रारम्भिक अनुसन्धानअनुसार झडपमा संलग्न समूहका केही व्यक्तिहरू होली खेल्दै बस्दा मदिरा सेवन गरिरहेको अवस्थामा विवाद उत्पन्न भएको प्रहरीले जनाएको छ। प्रहरीले झडपमा संलग्न १२ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, स्थितिलाई नियन्त्रणमा लिन र थप हिंसा हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो। सुरक्षाकर्मीले घटनास्थलबाटै शंकास्पद व्यक्तिहरूलाई हिरासतमा लिएको हो ।

झडप नियन्त्रण गर्ने क्रममा केही प्रहरी कर्मचारीसमेत घाइते भएका छन् भने प्रहरीको एउटा सवारी साधनमा सामान्य क्षति पुगेको जानकारी दिइएको छ । युवाहरूबिच कुन विषयलाई लिएर विवाद भएको हो भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन ।

हाल घटनास्थलमा शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयका डीएसपीको कमाण्डमा विशेष प्रहरी टोली खटाइएको छ। थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय