अब कुनै पनि उम्मेदवारले ‘सनरूफ’ गाडी (छतबाट टाउको निकाल्न मिल्ने) प्रयोग गर्न नपाउने भएका छन् । बिहीबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समिति, केन्द्रीय कमान्ड पोस्ट, जिल्ला सुरक्षा समितिका प्रमुखहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
उम्मेदवारको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर ‘सनरूफ’ गाडी प्रयोग गर्न नदिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता, सहसचिव आनन्द काफ्लेले जानकारी दिए । चुनावी प्रचारका क्रममा विभिन्न दलका उम्मेदवारले यस्ता गाडी प्रयोग गर्दै आएका थिए ।
उनीहरूले गाडीको छतबाट टाउको निकालेर हात हल्लाउने, मतदातासँग हात मिलाउने लगायतका गतिविधि गर्ने गरेका थिए । यसले उम्मेदवारको सुरक्षा जोखिम बढाउने गृहको चिन्ता छ । बैठकमा केन्द्रीय सुरक्षा समिति र केन्द्रीय कमान्ड पोस्टका अधिकारीहरू भौतिक रूपमा उपस्थित थिएन भने जिल्ला सुरक्षा समितिका प्रमुख (प्रमुख जिल्ला अधिकारी) भर्चुअल जोडिएका थिए ।
बैठकले निर्वाचन सुरक्षाका लागि अहिलेसम्म भएका कामको समीक्षा गरेको छ । निर्वाचनका लागि माहोल उचित रहेकाले उच्च मनोबलसहित काम गर्न सम्बन्धित सबै सुरक्षा अधिकारीलाई बैठकले निर्देशन दिने निर्णय गरेको छ ।
यसैगरी, जिल्ला सुरक्षा समितिको बैठक दैनिक रूपमा बस्ने, आवश्यक रणनीति बनाउने र निर्वाचनका लागि अधिकतम सुरक्षाको प्रत्याभूति गराउने काम गर्न निर्देशन दिइएको छ ।
निर्वाचनमा हुने दण्डहीनता (मतदातालाई अवरोध गर्ने, बुथ कब्जा गर्ने लगायत)का गतिविधि हुन नदिन उच्च सतर्कतासहित परिचालन हुने पनि बैठकले निर्देशन दिएको प्रवक्ता काफ्लेले बताए ।






