काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौं उपत्यकाका तीन निर्वाचन क्षेत्रका उम्मेदवारहरूले पार्टीभित्रको एकता, सहकार्य र साझा एजेन्डालाई प्राथमिकता दिँदै संयुक्त रूपमा चुनावी अभियान अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
काठमाडौं–९ का उम्मेदवार डिपी अर्याल, काठमाडौं–८ का उम्मेदवार विराजभक्त श्रेष्ठ र ललितपुर–२ का उम्मेदवार जगदीश खरेलले आफूहरू एउटै अभियानमा रहेको सन्देश दिएका हुन्। तीनै नेता पछिल्लो समय संयुक्त भेटघाट, छलफल तथा कार्यक्रममार्फत एकअर्कालाई सघाउँदै देखिएका छन्।
ललितपुर–२ का उम्मेदवार खरेलले “सभापति रवि लामिछानेले पार्टी बनाए, अर्यालले पार्टी बचाए” भन्ने नारासहित अघि बढ्नुपर्ने बताएका छन्। उनका अनुसार पार्टी निर्माण गर्ने नेतृत्वलाई जति माया र सम्मान आवश्यक हुन्छ, संकटका बेला पार्टी जोगाउने नेतृत्वलाई पनि उत्तिकै सम्मान दिनुपर्छ।
खरेलले अबको लक्ष्य केवल चुनाव जित्नु मात्र नभई दुई तिहाइ नजिकको बहुमत—कम्तीमा १५१ सिट—सहित सरकार गठन गर्ने रहेको दाबी गरे। उनले राजनीतिक अस्थिरताका कारण जनतामा निराशा बढेको उल्लेख गर्दै रास्वपाबाट नागरिकले ठूला अपेक्षा राखेको बताए।
यस्तै, काठमाडौं–८ का उम्मेदवार श्रेष्ठले नागरिकको मुख्य माग सुशासन र आत्मसम्मान भएको बताएका छन्। देशमा देखिएको बेथिति र भ्रष्टाचार सुशासन अभावकै परिणाम भएको जनताले बुझेको दाबी गर्दै उनले रास्वपाले ताजा जनादेशमार्फत परिवर्तनको आधार तयार गर्ने विश्वास व्यक्त गरे।
तीनै उम्मेदवार आ–आफ्नो क्षेत्रमा चुनावी प्रतिस्पर्धामा रहे पनि संयुक्त रूपमा अभियान चलाउनु उपत्यकामा रास्वपाको आन्तरिक एकता प्रदर्शन गर्ने रणनीतिक सन्देशका रूपमा हेरिएको छ।






