राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोरखा–१ का उम्मेदवार सुधन गुरुङ देशलाई माया गर्ने व्यक्ति भएको बताएका छन्।
गोरखाका मतदातासँगको भेटघाटका क्रममा सभापति लामिछानेले गुरुङप्रति शंका गर्नुपर्ने कुनै कारण नरहेको स्पष्ट पारे। उनले गुरुङका केही शैली, अभिव्यक्ति र राजनीतिक परिपक्वतामाथि प्रश्न उठ्न सक्ने स्वीकार गर्दै पनि त्यसलाई स्वाभाविक प्रक्रिया भएको बताए।
लामिछानेले भने,
“सुधन गुरुङका शैलीहरूमा प्रश्न होला। राजनीतिक परिपक्वतामा प्रश्न आउला। कतिपय अभिव्यक्तिमा तपाईंहरूले प्रश्न गर्ने ठाउँ निकाल्नुहोला। तर सुधन गुरुङको भित्र एउटा अबोध बालक छ, जिज्ञासु मानिस छ। र सबैभन्दा महत्वपूर्ण कुरा, सुधन गुरुङ यो देशलाई माया गर्ने छोरो हो। यसमा मलाई अलिकति पनि शंका छैन।”
उनले कमजोरीहरू समयक्रममा सुधार गर्दै लैजान सकिने उल्लेख गरे।
सभापति लामिछानेले रास्वपा भित्र रहेका सबैले गुरुङलाई साथ दिएर अघि बढाउने प्रतिबद्धता जनाउँदै भने,
“रास्वपा भित्र रहेका हामी सबैले देशलाई माया गर्ने सुधन गुरुङलाई सँगै जितेर लिएर जान्छौँ। जेनजी आन्दोलनमा घाइते भएकाहरूका लागि, तिनका परिवारहरूका लागि, सहिद परिवारहरूका लागि लड्ने र निरन्तर लडिरहने योद्धा हो सुधन गुरुङ।”
उनले गोरखाका मतदातालाई गुरुङलाई विजयी गराएर संघीय संसदमा एक सशक्त र जोडदार आवाजका रूपमा पठाउन आग्रहसमेत गरे।






