नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापामा मतदातासँग भेटघाटमा व्यस्त छन्। उनले झापाको कमल गाउँपालिकाका विभिन्न स्थानमा पुगेर मतदातासँग छलफल तथा प्रत्यक्ष भेटघाट गरिरहेका छन्।
सोही क्रममा स्थानीय मोहन बाबु शेर्माले ‘देउवाको घरमा पैसा भेटिएको’ भन्ने विषयमा प्रश्न गरेपछि अध्यक्ष ओलीले उक्त दाबी एआई (Artificial Intelligence) प्रविधिबाट बनाइएको भ्रामक सामग्री भएको बताएका छन्।
स्थानीयको प्रश्नको जवाफ दिँदै ओलीले भने, “यो एआईबाट बनाइएको हो। हजारको नोट मैले पनि देखेको हुँ।” उनले सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग गरेर भ्रम फैलाउने प्रवृत्तिप्रति सचेत रहन आग्रह गरे।
ओलीले आफू सरकारमा पुगेपछि सबै किसिमका भ्रष्टाचारविरुद्ध कडा कारबाही गरिने प्रतिबद्धता पनि जनाए। “म भ्रष्टाचार गर्दिनँ र गर्नेहरूलाई पनि छाड्दिनँ,” उनले भने, “अहिले घर–घरमा लुकाइएका पैसाबारे जानकारी पाउन कठिन छ, तर सरकारमा पुगेपछि छानबिन गरेर कारबाही गरिन्छ।”
मतदाता भेटघाटका क्रममा ओलीले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रण एमालेको प्रमुख एजेन्डा रहेको उल्लेख गर्दै त्यसका लागि जनताको विश्वास र समर्थन आवश्यक रहेको बताए।






