सुर्खेत प्रहरीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा ‘द डेन्जरस स्कुल’ (The Dangerous Skull) नामक समूहमा आबद्ध २५ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार शनिबार दिउँसो वीरेन्द्रनगर नगरपालिका–११ स्थित धुलियाबिट नजिकै तीनकुने चोकबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।



प्रहरीका अनुसार वीरेन्द्रनगर नगरपालिका–३ तातापानीमा आधारित उक्त समूहले स्थानीय प्रशासनको अनुमति नलिई कालो र सेतो रङका झन्डा बोकेर मोटरसाइकल र्‍याली निकालेको थियो। र्‍यालीका क्रममा होहल्ला गर्दै सार्वजनिक शान्ति भङ्ग गर्नुका साथै आसन्न निर्वाचनको आचारसंहिता तथा निर्वाचन कानुनले निषेध गरेका गतिविधि गरेको आरोप उनीहरूमाथि लगाइएको छ।

“बिना अनुमति र्‍याली निकालेर शान्ति सुरक्षामा चुनौती थपिएको छ,” डीएसपी बुढ्थापाले भने, “यसले निर्वाचनको वातावरणमा नकारात्मक असर पार्न सक्ने देखिएपछि तत्काल नियन्त्रणमा लिइएको हो।”

लगत्तै जिल्ला प्रहरी कार्यालय सुर्खेत र नगर प्रहरी कार्यालयबाट खटिएको करिब ३० जनाको विशेष टोलीले दिउँसो २ः५० बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको साथबाट ८ वटा मोटरसाइकल र ४ वटा स्कुटी समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

डीएसपी बुढ्थापाले निर्वाचनको समयमा शान्ति सुरक्षा भङ्ग हुने गरी आचारसंहिता उल्लङ्घन गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारे। नियन्त्रणमा लिइएका २५ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर