काठमाडौं । सामाजिक सञ्जालमा सबैभन्दा बढी फलोअर्स भएका नेपाली को हुन् ? यो प्रश्न उठ्दा धेरैको मुखमा काठमाडौंका पूर्व मेयर बालेन्द्र साह (बालेन) वा अभिनेत्री रेखा थापाको नाम आउने गर्छ । केही दिनअघि केही सञ्चारमाध्यमले बालेनले रेखालाई उछिन्दै सबैभन्दा बढी फलोअर्स भएका नेपाली बनेको दाबीसमेत गरेका थिए । तर, वास्तविकता भने फरक देखिएको छ ।
न बालेन, न रेखा—यी दुवैभन्दा धेरै फलोअर्स मधेसकी एक युवतीसँग छन् । उनी हुन् जनकपुरकी २३ वर्षीया सान्भी भगत ।
सान्भीको फेसबुक ‘अनभेरिफाइड’ पेजमा हाल ४० लाखभन्दा बढी फलोअर्स छन् । जबकि बालेन साह र रेखा थापाका फेसबुक फलोअर्स करिब ३४ लाखको हाराहारीमा छन् । फेसबुकमा मात्र होइन, इन्स्टाग्राममा पनि सम्भवतः सान्भी नै सबैभन्दा बढी फलो गरिने नेपाली हुन् । इन्स्टाग्राममा उनलाई ३५ लाखले फलो गरेका छन् । टिकटकमा उनका २९ लाख फलोअर्स छन् भने युट्युब च्यानलमा २ लाख १ हजार सब्सक्राइबर पुगेका छन् ।
सान्भी कुनै स्थापित राष्ट्रिय सेलिब्रिटी होइनन् । न त उनी टेलिभिजन वा ठूला फिल्ममा नियमित देखिएकी छिन् । उनको फेसबुक पेजसमेत भेरिफाइड छैन । तर, यति ठूलो संख्यामा फलोअर्स कसरी कमाइन् ? यो धेरैका लागि आश्चर्यको विषय बनेको छ । कतिपयले फलोअर्स ‘किनिएको’ आशंका पनि गरेका छन् । तर, उनको सामाजिक सञ्जाल गतिविधि र पृष्ठभूमि हेर्दा त्यस्तो देखिँदैन ।
सान्भी सबैभन्दा बढी टिकटकमा सक्रिय छिन् । टिकटकमार्फत नै उनले लोकप्रियता कमाउन थालेकी हुन् । तीन दिनअघि मात्रै सार्वजनिक भएको एक युट्युब अन्तरवार्तामा उनले लकडाउनको समयमा, कक्षा १० मा पढ्दाखेरी टिकटक सुरु गरेको बताएकी छिन् । उक्त अन्तरवार्ता मधेसकै एक युट्युबरले मैथिली भाषामा लिएका हुन् ।
बाल्यकालदेखि नै अभिनय र नृत्यमा रुचि भएकी सान्भीले टिकटकलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने माध्यम बनाइन् । उनी नृत्यभन्दा बढी लिपसिंक भिडियोमार्फत भाइरल भएकी हुन् । उनका अधिकांश टिकटक भिडियो मैथिली र हिन्दी भाषामा छन्, जसले मधेससँगै भारतको ठूलो दर्शक वर्गलाई पनि आकर्षित गरेको देखिन्छ ।
पछिल्लो समय उनी भोजपुरी र मैथिली गीतका म्युजिक भिडियोमा समेत डिमान्डेड कलाकार बन्दै गएकी छिन् । सान्भीले अभिनय गरेको ‘केकर पिजरवामेँ’ बोलको गीतले युट्युबमा ३४ लाखभन्दा बढी भ्युज पाइसकेको छ ।
हाल स्नातक तह (ब्याचलर्स) तेस्रो वर्षमा अध्ययनरत सान्भी अविवाहित छिन् । उनी आफूले प्रेममा धोका खाएको र अहिले सिंगल रहेको कुरा खुलेर बताउने गर्छिन् ।
मुख्यधारका सञ्चारमाध्यममा धेरै नदेखिए पनि सामाजिक सञ्जालको दुनियाँमा सान्भी भगत आज सबैभन्दा बढी फलो गरिने नेपाली अनुहारमध्ये शीर्ष स्थानमा उभिएकी छिन् ।






