झापा । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा जिल्लाबाट समानुपातिकतर्फ ६ जना नेताहरू अन्तिम बन्दसूचीमा परेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला समेत रहेको झापाबाट भूगोल, जातीय सन्तुलन र राजनीतिक योगदानलाई ध्यानमा राखेर उम्मेदवार छनोट गरिएको देखिन्छ ।

अन्तिम बन्दसूची अनुसार झापाका यी ६ जना उम्मेदवार आ–आफ्नो क्लस्टरमा अग्रपंक्तिमा रहेकाले संघीय संसदमा पुग्ने सम्भावना बलियो मानिएको छ । अघिल्लो निर्वाचनमा एमाले–राप्रपाको तालमेलले झापामा ‘क्लिन स्वीप’को अवस्था सिर्जना गरेको थियो । यसपटक समानुपातिक सूची तयार गर्दा अध्यक्ष ओलीले गृहजिल्लाको जातीय र भेगीय सन्तुलनलाई विशेष प्राथमिकता दिएको देखिन्छ ।



दलित कोटामा झापाको बलियो उपस्थिति

दलित कोटातर्फ झापाका नेताहरू अग्रस्थानमा छन् । दलित पुरुषतर्फ ६३ वर्षीय जीतबहादुर दर्जी गौतम पहिलो नम्बरमा परेका छन् । लामो समयदेखि उत्पीडित समुदायका हकहितमा सक्रिय दर्जीलाई अगाडि सारेर झापामा एमालेको दलित मत बैंक सुरक्षित गर्ने रणनीति देखिन्छ ।

दलित महिला कोटाको दोस्रो नम्बरमा ३४ वर्षीया नीता घतानी परेकी छिन् । युवा पुस्ताकी घतानीको समावेशले दलित महिला प्रतिनिधित्वमा नयाँ अनुहार अघि सारिएको विश्लेषण गरिएको छ ।

खस–आर्य र जनजातिमा ‘हेभीवेट’ सन्तुलन

खस–आर्य महिला कोटामा झापाबाट दुई प्रभावशाली नेतृहरू परेका छन् । ६१ वर्षीया मेनुका काफ्ले ७ नम्बरमा र ६६ वर्षीया लता प्रसाईं ८ नम्बरमा छन् । काफ्ले पूर्व जिल्ला विकास समितिकी उपसभापति रहिसकेकी अनुभवी नेतृ हुन् भने प्रसाईं झापाको राजनीतिमा स्थापित नाम मानिन्छिन् ।

आदिवासी जनजातितर्फ झापाको दक्षिणी क्षेत्रबाट विद्यानन्द सिंह राजवंशीलाई ६ नम्बरमा राखिएको छ । राजवंशी समुदायको ठूलो मतदाता संख्या रहेको क्षेत्रमा पकड बलियो बनाउन उनको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सोही क्लस्टरको ३ नम्बरमा ३५ वर्षीया अनिता कन्दङ्वा परेकी छिन्, जो पार्टीभित्र बौद्धिक र सक्रिय महिला नेतृका रूपमा परिचित छन् ।

विशेष गरी दक्षिण झापाका राजवंशी तथा सीमान्तकृत समुदायलाई समेट्न विद्यानन्द सिंहलाई सुरक्षित स्थानमा राखिनुले एमालेले मधेसी र जनजाति मतलाई एकीकृत गर्न खोजेको संकेत गरेको छ ।

काठमाडौंभन्दा झापाको प्रभावशाली उपस्थिति

काठमाडौंबाट ८ जना उम्मेदवार अन्तिम सूचीमा पर्दा झापाबाट ६ जना प्रभावशाली स्थानमा पर्नु राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । एमालेको समानुपातिक सूचीमा अनुभवी र नयाँ पुस्ताका अनुहारहरूको सन्तुलित मिश्रण देखिएको छ ।

निर्वाचन ऐन, २०७४ अनुसार दलहरूले कम्तीमा ५० प्रतिशत महिला तथा जनसंख्याको अनुपातअनुसार क्लस्टर मिलाउनुपर्ने व्यवस्था छ । निर्वाचन आयोगले अन्तिम सूची सार्वजनिक गरेसँगै अब उम्मेदवारहरू प्रचारप्रसारमा जुट्न पाउनेछन् । तर बन्दसूचीमा नाम समावेश भएकाहरूले नाम फिर्ता लिन भने पाउने छैनन् ।

बालेनलाई ‘काउन्टर’ रणनीति ?

काठमाडौंका पूर्व मेयर बालेन्द्र साह (बालेन) ले झापा क्षेत्र नम्बर–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन् । यस्तो अवस्थामा झापाबाट समानुपातिक फाइनल सूचीमा देखिएका ६ प्रभावशाली अनुहारलाई बालेनको सम्भावित ‘क्रेज’ रोक्ने र परम्परागत भोट बैंक सुरक्षित गर्ने रणनीतिक चालका रूपमा पनि हेरिएको छ ।

बालेनले ‘युवा’ र ‘सिस्टम परिवर्तन’को एजेन्डा उठाइरहँदा ओलीले झापाको दक्षिणी भेगका प्रभावशाली राजवंशी समुदायका नेता विद्यानन्द सिंहलाई समानुपातिकको सुरक्षित स्थानमा राखेर उक्त समुदायको मत एमालेमै होल्ड गर्न खोजेको देखिन्छ । यसले बालेनलाई भुइँ तहको मत आकर्षित गर्न चुनौती थपिन सक्ने राजनीतिक विश्लेषण हुन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय