झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) चुनावी प्रचारका क्रममा झापा क्षेत्र नं–५ पुगेका छन् । झापामा पुगेपछि उनले स्थानीय मतदातासँग संवाद गर्दै सुकुमबासी समस्या, शिक्षा–स्वास्थ्य र संघीय संरचनाबारे आफ्नो धारणा राखेका छन् ।

यसअघि सुदूरपश्चिम भ्रमणमा बोलिनन् भन्दै आलोचना खेपेका बालेन झापामा भने खुलेर मतदातासँग संवादमा देखिए । उनले झापा कमलगाउँपालिकाका सुकुमबासी युवाहरूको गुनासो सुन्दै आफू विजयी भए डोजर चलाएर उठीबास गराइन्छ कि भन्ने आशंका निराधार रहेको बताए ।



बालेनले काठमाडौंको उदाहरण दिँदै भने,
‘काठमाडौंमा हटाइएका बस्ती खोलाछेउको सार्वजनिक जग्गामा थिए । त्यो पनि ज्यानको सुरक्षाका लागि गरिएको हो । बाढीको उच्च जोखिम भएकाले सुरक्षित स्थानमा सारिएको हो । झापाको सन्दर्भ फरक छ, यहाँ डोजर चल्दैन ।’

उनले खोलाछेउ बाहेकका सुकुमबासीले कानुनी प्रक्रिया पूरा गरेर लालपुर्जा पाउने स्पष्ट पारे । भूमि आयोगमा राजनीतिक पहुँच भएका व्यक्तिहरूले दोहोर्‍याएर लालपुर्जा पाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको जोड थियो ।

‘४०–५० वर्षदेखि बसेकाले पनि लालपुर्जा नपाउने, पार्टी नजिककाले पटक–पटक पाउने गलत प्रणाली छ । यो सिस्टम सुधार्नुपर्छ,’ बालेनले भने ।

स्थानीय युवाहरूले रास्वपाको एजेन्डाबारे चासो राख्दा बालेनले पार्टीको घोषणापत्र तयारीको अन्तिम चरणमा रहेको जानकारी दिए ।
‘सबै क्षेत्र समेट्ने गरी फागुनको पहिलो सातामा मेनिफेस्टो सार्वजनिक हुन्छ,’ उनले बताए ।

शिक्षा र स्वास्थ्य पूर्ण रूपमा निःशुल्क गर्न सकिने कि नसकिने भन्ने प्रश्नमा बालेनले काठमाडौं महानगरको उदाहरण प्रस्तुत गरे ।
‘विपन्न वर्गका विद्यार्थीले निजी विद्यालयमा पनि अवसर पाइरहेका छन् । सय प्रतिशत निःशुल्क गर्न तत्काल बजेट नहुन सक्छ, तर पैसा नहुनेले अवसर पाउनैपर्छ,’ उनले भने ।

प्रदेश संरचना खारेज गर्नुपर्ने सुझावलाई भने बालेनले अस्वीकार गरे ।
‘प्रदेश संरचनामा न्यून खर्च छ । मन्त्री र सांसदको तलबले देश डुब्दैन,’ उनको भनाइ थियो ।

यसैबीच झापामा चुनावी प्रचारकै क्रममा एक युवाले बालेनलाई अँगालो हाल्दै गालामा चुम्बन गरेका छन् । ती युवाले बालेनको खुट्टा ढोग्दै ‘आइ लभ यू बालेन दाइ’ भन्दै समर्थन जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय