काठमाडौं — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र बुझाउन पुगेको जाँचबुझ आयोगको टोलीले लिखित जवाफ लिएर फर्किएको छ। आयोगका प्रवक्ता विज्ञानराज शर्मा ले ओलीबाट लिखित रूपमा बयान लिइएको पुष्टि गरेका छन्।
आयोगको टोली आज भक्तपुरस्थित ओली निवास गुण्डु पुगेर लिखित बयान लिएपछि स्थान हद (जुरिस्डिक्शन) को विषयमा केही दिनमै निर्णय गर्ने जनाएको छ। ओलीले दिएको लिखित जवाफको अध्ययनपछि आयोगले स्थान हद सम्बन्धी निष्कर्ष निकाल्ने प्रवक्ता शर्माले बताए।
यसअघि ओलीले जाँचबुझ आयोगलाई बयान नदिने अडान सार्वजनिक रूपमा लिँदै आएका थिए। बयान दिन बोलाइएमा सिंहदरबार घेर्नेसम्मको चेतावनी दिएका ओलीले पछिल्लो समय भने आयोगको टोली आफ्नो निवासमा आए लिखित जवाफ दिने बताएका थिए।
त्यसपछि आयोगले लिखित प्रश्न तयार गरी ओलीको निवास गुण्डुमा पठाएको थियो। सोही प्रश्नको जवाफ आज लिखित रूपमा बुझाइएको आयोगले जनाएको छ।
जाँचबुझ आयोग ऐन, २०२६ अनुसार गठित आयोगलाई भदौ २३ र २४ गते भएका हिंसा, तोडफोड, लुटपाट र आगजनीका घटनाका कारण पहिचान गर्ने, छानबिन गर्ने तथा कारबाहीका लागि सिफारिस गर्ने जिम्मेवारी दिइएको छ।
ऐनअनुसार आयोगलाई
कुनै व्यक्तिलाई आयोगसमक्ष उपस्थित गराई बयान लिन,
आवश्यक प्रमाण संकलन गर्न,
सरकारी वा सार्वजनिक कार्यालय तथा अदालतबाट कागजात माग गर्न,
तथा व्यक्तिलाई लिखत वा विवरण पेस गर्न आदेश दिन अधिकार रहेको छ।
आयोगले मागेको विवरण उपलब्ध नगराए वा अटेर गरेमा कारबाही सिफारिस गर्न सक्ने र अवहेलना गरेमा पाँच सय रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था पनि रहेको छ।






