ओखलढुंगा — ओखलढुंगाका दुई छुट्टाछुट्टै स्थानमा तीन जनाको ज्यान लिनेगरी भएका विभत्स हत्या तथा लुटपाट घटनामा संलग्न एक पेशेवर गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार ३० वर्षीय प्रकाश भुजेलसहित चार जनालाई पक्राउ गरिएको हो। सिद्धिचरण नगरपालिका–४ चार्खु र चिशंखुगढी गाउँपालिका–६ भदौरे मा भएको श्रृंखलाबद्ध हत्याको अनुसन्धानपछि अभियुक्तहरूलाई घरेलु बन्दुक र धारिलो हतियारसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा

चिशंखुगढी गाउँपालिका–३ का २८ वर्षीय संगम राई,

चिशंखुगढी–४ का ३० वर्षीय विनोद राई,

३० वर्षीय प्रकाश भुजेल,

चिशंखुगढी–८ का ३० वर्षीय अशोक भुजेल रहेका छन्।

प्रहरीले अभियुक्तहरूको साथबाट हत्या गर्न प्रयोग गरिएको बन्चरो, खुकुरी, लुटिएको सुन गालेर बनाइएको रिङ, मृतकको पसलबाट लुटिएका रिचार्ज कार्ड, दुई थान भरुवा बन्दुक तथा चार थान मोबाइल फोन बरामद गरेको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि कर्तव्य ज्यान, डाँका तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। प्रचलित कानुनअनुसार क्रूर हत्या गरेकालाई जन्मकैद सम्मको सजाय हुन सक्ने र डाँका तथा अवैध हतियार प्रयोगमा थप कैद तथा जरिवानाको व्यवस्था रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पहिलो घटना असोज २६ गते सिद्धिचरण नगरपालिका–४ चार्खुमा भएको थियो। त्यहाँ एक्लै बस्दै आएकी ५२ वर्षीया रत्नकुमारी कटवाल (कार्की) को बन्चरो प्रहार गरी हत्या गरिएको थियो। हत्यापछि उनको घरबाट नगद र सुनका गरगहना लुटिएको थियो।

त्यसैगरी दोस्रो घटना पुस १५ गते चिशंखुगढी गाउँपालिका–६ भदौरेमा भएको थियो। किराना पसल सञ्चालन गर्दै आएका ६० वर्षीय सोभितमान थापा मगर र उनकी श्रीमती ६० वर्षीया रत्नमाया थापा मगर को कोदालो तथा अन्य घरेलु हतियार प्रहार गरी निर्मम हत्या गरिएको थियो। हत्यापछि शवलाई गोठमा लगेर स्याउलाले छोपिएको र पसल तथा कोठामा रहेको करिब १ लाख नगद र झन्डै ६ तोला सुन लुटपाट गरिएको थियो।

यी घटनाको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो (CIB), कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुंगा को संयुक्त टोली परिचालित थियो। प्रहरीले पुस १७ र १८ गते विभिन्न स्थानबाट चारै जनालाई पक्राउ गर्न सफल भएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय