काठमाडौं — नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लाई जाँचबुझ आयोगले औपचारिक रूपमा सोधपुछका लागि पत्र काटेको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन को घटनाक्रमबारे सोधपुछ गर्न आयोगले अध्यक्ष ओलीलाई पत्र पठाएको हो। स्रोतका अनुसार जाँचबुझ आयोगको टोलीले भक्तपुरस्थित गुण्डु निवास पुगेर अध्यक्ष ओलीलाई पत्र बुझाएको हो।

आयोगको पत्र प्राप्त भए पनि अध्यक्ष ओलीले भने बयान नदिने अडान लिँदै आएको बताइएको छ। यस विषयमा एमालेले औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।

यसअघि जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखक सँग भने बयान लिइसकेको छ। नेपाली कांग्रेसका नेता लेखकले आयोगसमक्ष लिखित बयान पेस गरेका थिए।

जेनजी आन्दोलनका क्रममा भएको हिंसा, आगजनी, तोडफोड र मानवीय क्षति सम्बन्धी विषयमा सत्यतथ्य पत्ता लगाउन सरकारले जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले राजनीतिक नेतृत्व, प्रशासनिक अधिकारी तथा सुरक्षासँग सम्बन्धित व्यक्तिहरूसँग क्रमशः सोधपुछ गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय