इलाम — सशस्त्र प्रहरी बलका डीएसपी प्रकाश कोइरालाको निधन भएको छ। इलामको पशुपतिनगर गुल्ममा कार्यरत डीएसपी कोइरालाको बुधबार उपचारका क्रममा मृत्यु भएको हो।
सीमावर्ती क्षेत्र मानेभञ्ज्याङमा नियमित पेट्रोलिङ सकेर फर्किएलगत्तै उनी पशुपतिनगरस्थित आफ्नै कार्यालयमै अचानक ढलेका थिए। अवस्था गम्भीर भएपछि उनलाई तत्काल हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।
काठमाडौंस्थित सशस्त्र प्रहरी बलको अस्पताल (एपीएफ अस्पताल) मा उपचारका क्रममा साँझ करिब ६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। चिकित्सकका अनुसार डीएसपी कोइरालालाई हृदयाघात भएको प्रारम्भिक जानकारी दिइएको छ।
डीएसपी कोइराला करिब एक महिनाअघि मात्रै पशुपतिनगर गुल्मको इन्चार्जका रूपमा सरुवा भई कार्यभार सम्हालेका थिए। कार्यकाल छोटो रहे पनि उनी जिम्मेवारीप्रति समर्पित र सक्रिय अधिकृतका रूपमा परिचित थिए।
उनको आकस्मिक निधनले सशस्त्र प्रहरी बल इलामसहित संगठनभर शोक छाएको छ। सहकर्मी, वरिष्ठ अधिकृत तथा स्थानीय बासिन्दाले डीएसपी कोइरालाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।






