काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा औपचारिक रूपमा प्रवेश गरेका छन् । शनिबार बिहान ४:१५ बजे रास्वपा सभापति रवि लामिछाने र मेयर शाहबीच ७ बुँदे सहमतिमा हस्ताक्षर भएसँगै बृहत् राजनीतिक एकता कायम भएको हो ।
सम्झौताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व रवि लामिछानेले गर्नेछन् भने बालेन शाहलाई आगामी प्रतिनिधिसभा निर्वाचनपछि प्रधानमन्त्रीका रूपमा अघि सारिने सहमति भएको छ । सम्झौतापत्रमा दुवै नेताले हस्ताक्षर गरेका छन् ।
भ्रष्टाचारविरुद्धको आन्दोलनलाई संस्थागत गर्ने प्रतिबद्धता
सहमतिमा नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिने, आन्दोलनका क्रममा घाइते तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ । साथै, गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्य लिइएको छ ।
पार्टीको नाम, झण्डा र चुनाव चिन्ह यथावत्
बृहत् एकतापछि स्थापित हुने दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ । पार्टीको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो रंगको घण्टी रहनेछ भने चुनाव चिन्ह पनि ‘घण्टी’ नै कायम रहने सहमति भएको छ । पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकाभित्र रहने उल्लेख गरिएको छ ।
संगठन विस्तारमा योग्यता र समावेशितामा जोड
एकतापछि पार्टीको संगठनात्मक संरचनालाई अझ सक्षम र फराकिलो बनाइनेछ । यस क्रममा युवा अभियन्ता र अनुभवी विज्ञहरूलाई समुचित रूपमा समायोजन गर्दै योग्यता, समावेशिता र सार्वजनिक छविलाई प्राथमिकता दिइने सहमतिमा उल्लेख छ ।
निर्वाचन आयोगमा दस्तावेज अद्यावधिक गरिने
सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी सम्पूर्ण दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ । साथै, लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा गोलबद्ध हुन अन्य परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई समेत आह्वान गरिएको छ ।
राजनीतिक वृत्तमा यो सहमतिलाई वैकल्पिक राजनीतिमा नयाँ मोडका रूपमा हेरिएको छ । रवि लामिछाने र बालेन शाहको एकताले आगामी निर्वाचनको समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।







