काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने र मेयर शाहबीच भएका लगातार भेटवार्तापछि सहमतिका अधिकांश बुँदामा समझदारी बनेको विश्वस्त स्रोतले जनाएको छ।

स्रोतका अनुसार रास्वपा र बालेन पक्षबीच पार्टी एकता वा रणनीतिक सहकार्यबारे सहमतिको मस्यौदा तयार भइसकेको छ। कुनै अप्रत्याशित बाधा नआएमा आजै औपचारिक घोषणा हुन सक्ने सम्भावना छ।

तीन नेता रवि लामिछाने, कुलमान घिसिङ र बालेन शाह आज राति डिनर बैठकमा बस्दै छन्। स्रोतका अनुसार यही बैठकले राजनीतिक सहमतिलाई अन्तिम रूप दिनेछ।

स्रोतका अनुसार अहिलेसम्म पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नै रहने, चुनाव चिह्न घण्टी प्रयोग गर्ने र नेतृत्व वरीयतामा समेत अनौपचारिक सहमति जुटिसकेको छ।

भागवण्डाको विषयमा भने छलफल जारी छ। रास्वपाले ७० प्रतिशत होल्ड र बाँकी ३० प्रतिशत बालेन र कुलमान समूहलाई दिने प्रस्ताव गरेको छ। यसमध्ये करिब २० प्रतिशत उज्यालो नेपाल पार्टीको भागमा पर्ने चर्चा छ।

आज दिनभर सहमतिको मस्यौदामा काम भए पनि बालेन शाह महानगरको नगरसभामा व्यस्त भएकाले अन्तिम हस्ताक्षर हुन सकेन। स्रोतका अनुसार आजै औपचारिक घोषणा हुन नसके भोलि निर्णायक छलफलपछि सहमतिपत्रमा हस्ताक्षर हुने सम्भावना उच्च छ।

सहमति भएमा आगामी निर्वाचनमा रास्वपा, बालेन र कुलमान एउटै मोर्चाबाट अघि बढ्नेछन् ।

रास्वपाले बालेन शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने बुझिएको छ। सभापति रवि लामिछानेले बालेनलाई अगाडि बढाउने विकल्पमा सहमति जुट्दै गएको स्रोतको दाबी छ।

सहमति अनुसार पार्टीको नाम, झण्डा र निर्वाचन चिह्न ‘घण्टी’ नै रहनेछ। बालेनले रास्वपाको नीति, संगठन र चुनाव चिह्न स्वीकार गर्न तयार रहेको बताइएको छ। उनले पार्टीभित्र औपचारिक पदको दाबी नगरे पनि नेतृत्वको दोस्रो वरीयतामा रहने अपेक्षा गरिएको छ।

बालेनसँगै जेन–जी आन्दोलनका अभियन्ता, वैकल्पिक राजनीतिक समूह र नयाँ शक्तिहरू पनि रास्वपामा समाहित हुने सम्भावना रहेको स्रोतले जनाएको छ। यसले आगामी निर्वाचनमा ठूलो राजनीतिक ध्रुवीकरण हुने संकेत देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय