काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछानेसँग भएको दुई चरणको गोप्य भेटवार्तापछि दुवै पक्षबीच राजनीतिक सहकार्य तथा एकतामा ठोस सहमति नजिक पुगेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार कुनै अनपेक्षित अवरोध नआए आजै सहमतिमा हस्ताक्षर भई औपचारिक घोषणा हुन सक्ने सम्भावना छ। सहमतिको मस्यौदा तयार पार्न रास्वपातर्फ असिम साह, आसिफ साह र बालेनका निकट सहयोगी कुमार बेन सक्रिय छन्।

स्रोतका अनुसार रास्वपाले आगामी आम निर्वाचनमा बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने सहमति भएको छ। सहमति अनुसार रवि लामिछाने रास्वपाको सभापति रहनेछन् भने बालेन पार्टीको नेतृत्व तहमा दोस्रो वरीयतामा रहनेछन्।

हाल रवि लामिछाने कानुनी प्रक्रियामा रहेकाले प्रधानमन्त्रीको दाबेदारीमा सीमित अवस्था रहेपछि बालेनलाई अघि सार्ने विकल्पमा रास्वपा सकारात्मक बनेको बताइएको छ।

स्रोतका अनुसार बालेनले रास्वपाको नीति, संगठन, झण्डा र चुनाव चिन्ह ‘घन्टी’ स्वीकार गर्न सहमति जनाएका छन्। तर उनले पार्टीभित्र कुनै औपचारिक संगठनात्मक पद नलिने स्पष्ट गरेका छन्। बालेनको मुख्य चासो जेनजी आन्दोलन र वैकल्पिक शक्तिहरूलाई एकै ठाउँमा ल्याउने विषयमा केन्द्रित रहेको बताइएको छ।

बालेनसँगै जेनजी समूह, नयाँ राजनीतिक धारका अभियन्ता तथा वैकल्पिक शक्तिहरू पनि रास्वपामा समाहित हुने दाबी गरिएको छ। ऊर्जामन्त्री कुलमान घिसिङ, विभिन्न जेनजी अभियन्ता तथा नयाँ राजनीतिक समूहहरूसँग बालेनको संवाद जारी रहेको स्रोतको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय