नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन्। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले आफू २०८४ को निर्वाचनमा उम्मेदवार नबन्ने स्पष्ट अडान सार्वजनिक गरेका हुन्।

महामन्त्री शर्माका अनुसार उनले यसबारे एक वर्षअघि नै आफ्नो निर्वाचन क्षेत्र झापा–१ मा घोषणा गरिसकेका थिए।
‘२०८१ पुस २१ गते मेचिनगरको कार्यक्रममा नै मैले आगामी चुनावमा उम्मेदवार बन्न इच्छुक नभएको स्पष्ट गरेको थिएँ,’ उनले बैठकमा बताए।

उनले लगातार तीन पटक उम्मेदवार बनिसकेकाले यसपटक नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने धारणा राखे।
‘जिते पनि हारे पनि एउटै क्षेत्रमा टाँसिएर बस्ने, जीवनभर मन्त्री हुने सोचले राजनीतिलाई कमजोर बनाएको छ,’ शर्माको टिप्पणी छ।

महामन्त्री शर्माले नेपाली राजनीतिमा देखिएको ‘क्षेत्र कब्जा’ गर्ने प्रवृत्तिको खुलेर आलोचना गर्दै भने,
‘पावर छ भन्दैमा बारम्बार उम्मेदवार बन्ने, हारेपछि पनि क्षेत्र नछाड्ने सोच अन्त्य हुनुपर्छ।’

उनले आफू उम्मेदवार नबने पनि देशभर पार्टीका उम्मेदवारका लागि सक्रिय रूपमा खटिने स्पष्ट पारे।

महामन्त्री शर्माले फागुन २१ मा निर्वाचनका लागि वातावरण नबनेको उल्लेख गर्दै सरकारलाई संवादमार्फत बैशाखमा चुनावको विकल्प खोज्न सुझाव दिए।
संवैधानिक जटिलता समाधानका लागि ७ प्रदेशका ७ स्थानमा निर्वाचन गर्न सकिने प्रस्ताव पनि उनले अघि सारे।

‘अब चुनावमा अनुहार फेर्नुपर्छ,’ शर्माले जोड दिँदै भने,
‘बढीभन्दा बढी युवा र नयाँ पुस्तालाई राजनीतिमा अघि ल्याउनु जरुरी छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय