काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरका मेयर बालेन शाहलाई भावी प्रधानमन्त्रीको साझा उम्मेदवारका रूपमा स्वीकार्न तयार रहेको खुलाशा गरेको छ। रास्वपा सभापति रवि लामिछानेले नयाँ राजनीतिक सहकार्यका लागि ढोका खुला रहेको बताएका छन्।
विश्वसनीय स्रोतका अनुसार रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता भैरहेको छ। स्रोतका अनुसार रास्वपा नेता असिम शाहको कमलपोखरीस्थित घरमा वान टु वान वार्ता भइरहेको छ ।भेटमा देशको वर्तमान राजनीतिक अवस्था, जेन–जी आन्दोलन, सुशासन, भ्रष्टाचारविरुद्धको साझा एजेन्डा र आगामी निर्वाचनबारे गम्भीर छलफल भएको बताइएको छ।
सभापति लामिछानेले ‘व्यक्ति होइन, देश प्राथमिकता हो’ भन्दै आवश्यक परे प्रधानमन्त्रीको उम्मेदवारसमेत त्याग्न सकिने संकेत गरेका छन्। “देश बन्ने हो भने जो सक्षम छ, उसैलाई अगाडि बढाउन हामी तयार छौँ,” लामिछानेको भनाइ उद्धृत गर्दै श्रोतले भन्यो ।
रवि–बालेन सहकार्य औपचारिक रूपमा अघि बढेमा यसले नेपाली राजनीतिमा ठूलो पुनर्संरचना ल्याउने आँकलन गरिएको छ। रास्वपा सभापति लामिछानेले यसअघि नै “देश बनाउने एजेन्डामा जोसुकैसँग पनि सहकार्य गर्न तयार” रहेको बताएका थिए। सोही अभिव्यक्तिको निरन्तरता स्वरूप यो भेटवार्ता निकै अर्थपूर्ण मानिएको छ। स्रोतका अनुसार अहिले रास्वपाका सभापति रवि लामिछाने र उपसभापति डोलप्रसाद (डिपी) अर्याल तथा मेयर बालेन र उनका निकट सहयोगी कुमार बेनबीच भेटवार्ता जारी छ।






