चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश निर्माणका लागि आफूले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको दाबी गरेका छन्। सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएर कारागारबाट बाहिरिएलगत्तै चितवनको चौबिसकोटीमा आयोजित विशाल सभालाई सम्बोधन गर्दै उनले व्यक्तिगत पद, शक्ति र पहिचानभन्दा देश ठूलो भएको बताएका हुन्।
‘मलाई केही पनि चाहिएको छैन,’ लामिछानेले भने, ‘पार्टी चाहिन्छ भने लैजानुस्, चुनाव चिन्ह चाहिन्छ भने लैजानुस्, झण्डा, अफिस, सभापति–उपसभापति सबै लैजानुस्। देश बन्नुपर्यो, व्यक्तिको कुनै महत्व हुँदैन।’
कारागारमा रहँदासमेत आफू मिल्नुपर्नेहरूसँग संवादमा रहेको उल्लेख गर्दै उनले अन्तिम समयमा सबै मिलेर अघि बढ्ने विश्वास व्यक्त गरे। ‘मिल्ने कुरा टाउको ठोकेर मित लगाउने होइन,’ उनले भने, ‘यो एउटा चुनावका लागि होइन, एउटा पुस्ताका लागि हो।’
सभामा उनले आफूलाई अन्याय गरिएको दोहोर्याउँदै भावुक अभिव्यक्ति दिए। ‘मलाई विष भएका सर्पहरूले डसे,’ लामिछानेले भने, ‘त्यही विष बोकेर म आज पनि बाँचिरहेको छु। मेरो शरीरमा अझै विष बाँकी छ, यही लिएर म लडिरहन्छु।’
पुराना राजनीतिक नेतृत्वप्रति कटाक्ष गर्दै उनले भने, ‘मलाई दिएको दुःख केही होइन, सिंगो देशलाई दिएको दुःखको हिसाब मिलाउन बाँकी छ।’ उनले बदला होइन, बेरोजगारी, अशिक्षा, भोक र निराशाविरुद्ध लड्नु आजको मुख्य आवश्यकता भएको बताए।
जेन–जी आन्दोलनप्रति समर्थन जनाउँदै लामिछानेले आन्दोलनका क्रममा ज्यान गुमाउने र घाइते भएका युवाप्रति सम्मान व्यक्त गरे। ‘हाम्रा सपना जलेका छन्,’ उनले भने, ‘सिंहदरबार र न्यायालय फेरि बनाउँला, तर खरानी भएका सपना हामी आफैंले उठाउनुपर्छ।’
सरकारलाई लक्षित गर्दै उनले निर्वाचनतर्फ ढुक्क भएर अघि बढ्न आग्रह गरे। ‘जेन–जीको रगतबाट चुनिएको सरकारले जेन–जीको सपना पूरा गर्ने आँट राख्नुपर्छ,’ उनले भने, ‘सुशासन र निर्वाचनको विषयमा रास्वपा सरकारको साथमा छ।’
सभाको अन्त्यमा उनले जेन–जी पुस्तालाई सम्बोधन गर्दै भने, ‘रवि दाइ साथमै छन्, चिन्ता नगर्नुस्। हामी सबै मिलेर यो देश बनाउँछौं।’






