काठमाडौं —
महँगा ब्रान्डेड कपडा, लक्जरी होटल, नाइट क्लबमा दैनिक मोजमस्ती र फरक–फरक युवतीसँगको संगत । बाहिरबाट हेर्दा उनी कुनै धनाढ्य परिवारका उत्तराधिकारी जस्ता देखिन्छन् । तर यो चमकधमकभित्र लुकेको वास्तविकता भने सहकारी चोरीको अँध्यारो संसारसँग जोडिएको छ ।

यी व्यक्ति हुन् — दीपक गजुरेल (२८) । प्रहरीका अनुसार उनी सहकारी चोरीका सबैभन्दा कुख्यात र मोस्ट वान्टेड अभियुक्तमध्ये एक हुन् ।

प्रहरी स्रोतका अनुसार काठमाडौंमा कुनै सहकारी चोरी भएको खबर आएलगत्तै प्रारम्भिक अनुसन्धानमा दीपक गजुरेलको नाम पहिलो प्राथमिकतामा पर्छ ।
यदि प्रत्यक्ष प्रमाण नदेखिए मात्र दोस्रो वा तेस्रो विकल्पतर्फ अनुसन्धान अघि बढाइन्छ । यसले नै उनको ‘कुख्यात’ परिचय स्पष्ट पार्छ ।

भदौको जेन–जी आन्दोलनका क्रममा सुन्धारा कारागारको सुरक्षाघेरा कमजोर बनेको मौका छोप्दै दीपक फरार भएका थिए । त्यसपछि उनले काठमाडौंका ठमेल, गौशाला, रातोपुल लगायत क्षेत्रका सुविधा सम्पन्न होटलमा बस्दै चोरी र लुटपाटलाई निरन्तरता दिए ।

प्रहरीका अनुसार उनले एकैपटक १६–१६ लाख रुपैयाँसम्म चोरी गरेका घटनाहरू छन् ।

तीन महिनाको फरार जीवनपछि २६ मंसिरमा दीपक रातोपुलस्थित रोयल च्याम्बर होटलबाट पक्राउ परे ।
प्रहरी पुग्दा उनी होटलको कोठामा एक युवतीसँग थिए । फरक–फरक युवतीसँग होटलमा बस्नु उनको दैनिकी नै भएको अनुसन्धानमा खुलेको छ ।

प्रहरीले सुरुमा उनको साथबाट २३ हजार ५०० रुपैयाँ मात्र बरामद गरेपछि चकित भएको थियो । पछि युवतीमार्फत अनुसन्धान अघि बढाउँदा ठमेलको अर्को होटल कोठाबाट १० लाख रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

प्रहरी तथ्यांक अनुसार दीपक गजुरेल अहिलेसम्म

२१ वटा सहकारी चोरीमा संलग्न

कुल २३ पटक पक्राउ परिसकेका छन् ।

यसअघि उनी अभद्र व्यवहार र लागुऔषध मुद्दामा पनि पक्राउ परेका थिए ।

चार महिनामै उनले ७ सहकारीबाट ४३ लाख रुपैयाँभन्दा बढी चोरी गरेको रेकर्ड प्रहरीसँग छ । काठमाडौं मात्र होइन, पोखराका सहकारी चोरीमा पनि उनको संलग्नता देखिएको छ ।

प्रहरीका अनुसार दीपकको चोरी गर्ने शैली प्रस्ट छ ।

मध्यराति १२ देखि २ बजेको बीचमा एक्लै चोरी

ताला काट्ने औजार, मास्टर चाबी र विशेष पञ्जा प्रयोग

यति स्पष्ट शैलीका कारण प्रहरी वृत्तमा भनाइ छ —
“मध्यराति एक्लै सहकारी चोर्ने भयो भने नबुझी सोझै दीपक खोजे हुन्छ।”

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्,
“उनको चोरीको एउटै उद्देश्य छ — पैसा उडाउने, क्लब जाने, फरक–फरक केटी घुमाउने र मोजमस्ती।”

चोरीबाट आएको रकमले उनी काठमाडौं र पोखरामा लक्जरी जीवन बिताउँथे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय