भैरहवा — जिल्ला अदालत रुपन्देहीबाट रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले अझै न्याय नपाएको स्पष्ट पारेका छन्। रिहाइ लगत्तै समर्थकहरूमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले निरन्तर साथ, विश्वास र समर्थनका लागि सबैप्रति आभार व्यक्त गरे।
लामिछानेले वर्तमान राजनीतिक नेतृत्वले देशमाथि गरिरहेको अन्यायको तुलनामा आफूलाई गरिएको व्यवहार ठूलो नभएको टिप्पणी गर्दै भने, “यिनीहरूले यो देशलाई जति अन्याय गरेका छन्, त्यसको अगाडि मलाई गरिएको अन्याय केही पनि होइन।”
उनले न्यायिक प्रक्रियाप्रति आशा कायम रहेको संकेत गर्दै थपे, “सबैको हिसाब गर्नु छ। हिसाब मिलाउन बाँकी नै छ। न्याय पाउन बाँकी छ। मैले अझै धेरै बोल्न बाँकी छ।”
समर्थकहरूबाट घेरिएका लामिछानेले भावुक शैलीमा भने, “यो माया, साथ, विश्वास र अनवरत सद्भावका लागि धेरै धेरै धन्यवाद। मैले धेरै बोल्ने दिन आउँदै छ।”
उनको यो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। रिहाइपछि आएको यो कडा सन्देशले आगामी दिनमा उनले थप खुलासा र राजनीतिक कदम चाल्ने संकेत गरेको विश्लेषकहरूको भनाइ छ।






