प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत अभिव्यक्त हुने नयाँ जनभावनाअनुरूपको सरकारलाई सत्ता हस्तान्तरण गर्न आफूहरू आतुर रहेको बताएकी छन् ।
ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउँदै जनताको मतबाट आउने सरकारलाई सहज रूपमा शक्ति हस्तान्तरण गर्न सरकार पूर्ण रूपमा तयार रहेको स्पष्ट पारिन् ।
उनले आगामी निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको भन्दै आ–आफ्नो स्थानबाट योगदान दिन आग्रह गरिन् ।
प्रधानमन्त्री कार्कीले वर्तमान सरकार सुशासन र निर्वाचनलाई मुख्य एजेन्डा बनाएर अघि बढिरहेको उल्लेख गर्दै आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न अहोरात्र खटिएर तयारीका कामहरू तीव्र रूपमा अघि बढाइएको जानकारी दिइन् ।
समाजमा अराजकता फैलाउने तत्वहरूविरुद्ध सजग रहन आग्रह गर्दै उनले शान्ति सुरक्षामा समुदायको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने बताइन् ।
उनले भनिन्,
‘मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित रूपमा अघि बढाउने एक मात्र विकल्प निर्वाचन हो। समाजमा कुनै पनि किसिमको अराजकता स्वीकार्य हुँदैन। शान्ति भंग गर्ने, कानुन हातमा लिने गतिविधिविरुद्ध सुरक्षा प्रशासन सक्षम र सक्रिय छ। यसका लागि समुदायको सहकार्य अपरिहार्य छ। आउनुहोस्, हामी सबै हातेमालो गरौँ।’






