काठमाडौं । गायक तथा मोडल दुर्गेश थापाले आफ्नी पत्नी प्राचीप्रति गहिरो माया र सम्मान व्यक्त गर्दै आएको कुरा धेरैलाई थाहा छ। केही समयअघि एक टेलिभिजन अन्तर्वार्तामा पत्नीको प्रसंग आउँदा भावुक बनेका उनी पुनः पत्नीको जन्मदिनका अवसरमा चर्चामा आएका छन्।
सोमबार प्राचीको जन्मदिनको अवसरमा दुर्गेशले पारिवारिक जमघटसहित सानो पार्टी आयोजना गरेका थिए। केक काटिसकेपछि उनले पत्नीलाई सुन्दर रानीहार उपहार दिएका थिए, जसले प्राची निकै खुसी देखिएकी थिइन्।
यसैबीच सामाजिक सञ्जालमा दुर्गेशले पत्नीलाई ५० लाख रुपैयाँ बराबरको हार उपहार दिएको हल्ला फैलिएको थियो। तर दुर्गेशले उक्त दाबीलाई असत्य भएको स्पष्ट पारेका छन्।
उनले भने, “हार महँगो त हो, तर ५० लाखको भने होइन। प्राचीसँग रानीहार थिएन। सबैले तीज र चाडपर्वमा लगाएको देख्थेँ, तर उनले कहिल्यै लगाएकी थिइनन्। त्यसैले दुई तोलाको रानीहार बनाएर उपहार दिएको हुँ।”
हारको ठ्याक्कै मूल्य खुलाउन नचाहे पनि दुर्गेशको भनाइ अनुसार त्यसको मूल्य करिब साढे पाँच लाख रुपैयाँ आसपास पर्छ। यति महँगो उपहार आफूले यसअघि कुनै पनि जन्मदिनमा नदिएको उनको भनाइ छ।
उक्त जन्मदिन कार्यक्रममा नायिका पूजा शर्मा आफ्ना श्रीमान् युद्ध बानियाँसँगै सहभागी भएकी थिइन्। गायक प्रमोद खरेल, कमेडियन सागर लम्साल लगायतका केही नजिकका साथीहरूको पनि उपस्थिति रहेको थियो।
पूजासँगको सम्बन्धबारे दुर्गेशले भने, “पूजा मभन्दा पनि प्राचीसँग बढी नजिक छ। मसँग भन्दा उनीहरूकै गफ बढी हुन्छ। त्यसैले बोलाइएको हो। ठूलो समारोह होइन, सानो पारिवारिक जमघट मात्र थियो।”






