काठमाडौं। नेकपा एमालेको काठमाडौंमा जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ।
आगामी पाँच वर्षे कार्यकालका लागि पार्टी नेतृत्व चयन गर्न २२६३ प्रतिनिधिले मतदान गर्नेछन्। महाधिवेशनले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो सहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ।
अध्यक्ष पदमा ओली र पोखरेल आमनेसामने
पार्टी अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानलसहित चुनावी मैदानमा छन्।
तेस्रो कार्यकालका लागि ओली पुनः अध्यक्ष बन्ने प्रयासमा छन् भने पोखरेलले उनलाई कडा चुनौती दिएका छन्।
ओली नवौँ र दशौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भइसकेका छन्।
ओली प्यानल
उपाध्यक्ष : विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ
महासचिव : शंकर पोखरेल
उपमहासचिव : रघुवीर महासेठ, विष्णु रिमाल, लेखराज भट्ट
सचिव : पद्मा अर्याल, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की, राजन भट्टराई
पोखरेल प्यानल
उपाध्यक्ष : बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ, गोकर्ण विष्ट, अरुण नेपाल, रघुजी पन्त, टंक कार्की
महासचिव : सुरेन्द्र पाण्डे
उपमहासचिव : योगेश भट्टराई, वैजनाथ चौधरी
सचिव : गोकुल बाँस्कोटा, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, विनोद ढकाल, पुरुषोत्तम पौडेल, कृष्णगोपाल श्रेष्ठ
ओली प्यानलबाट असन्तुष्टि, समीकरण बदलिँदै
महाधिवेशनको चुनावी कार्यक्रम चलिरहेकै बेला अध्यक्ष ओलीको साथ छाड्ने नेताहरूको संख्या बढ्दै गएको छ। आफूले चाहेजस्तो भूमिका नपाएको भन्दै केही प्रभावशाली नेताहरू ओली प्यानलबाट अलगिएका छन्, जसले प्रतिस्पर्धालाई झनै रोचक बनाएको छ।
विगतमा ओली निकट मानिएका प्रदीप ज्ञवाली, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ, गोकुल बाँस्कोटा, लालबाबु पण्डित, राजेन्द्र गौतम, अग्नि खरेल, लिला गिरी, कृष्ण राई, नवराज सिलवाल लगायतका नेताहरू ओली प्यानलबाट अलग भएका छन्।
१०औँ महाधिवेशनका उपमहासचिव प्रदीप ज्ञवाली यसपटक महासचिवमा प्रतिस्पर्धा गर्न चाहन्थे। तर ओलीले उनलाई उपाध्यक्षमा सीमित गर्न खोजेपछि उनले पदाधिकारी पदमा उम्मेदवारी नदिई केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दर्ता गराएका छन्।
ज्ञवालीले भनेका छन्—
“पार्टीमा सबैलाई समान प्रतिस्पर्धाको अवसर हुनुपर्छ। एउटै व्यक्तिलाई बारम्बार एउटै पदमा दोहोर्याउने प्रवृत्ति उचित होइन।”
यस्तै, पूर्व शिक्षामन्त्री रघुजी पन्त पोखरेल समूहबाट उपाध्यक्षमा उम्मेदवार बनेका छन्।
ओली प्यानलबाट सचिवका आकांक्षी राजेन्द्र गौतम ले स्वतन्त्र रूपमा उपमहासचिवमा उम्मेदवारी दिएका छन् भने कृष्णगोपाल श्रेष्ठ र गोकुल बाँस्कोटा पोखरेल प्यानलमा छन्।
प्रतिस्पर्धा कडा हुने संकेत
ओलीसँग असन्तुष्ट नेताहरू पोखरेलतर्फ उभिन थालेपछि अध्यक्ष पदमा कडा प्रतिस्पर्धा हुने संकेत देखिएको राजनीतिक विश्लेषकहरू बताउँछन्। सुरुवातमा कमजोर देखिएको पोखरेल प्यानल पछिल्लो घटनाक्रमसँगै थप बलियो बन्दै गएको आकलन गरिएको छ।






