काठमाडौं। १५ चैत २०८१ मा तीनकुनेमा भएको प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकलाई सरकारको तर्फबाट शहीद घोषणा गरिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई राज्यका तर्फबाट आधिकारिक रूपमा शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्को निर्णयलगत्तै पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन्।
मन्त्री खरेलले भने,
“चैत १५ गते तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरिएको छ।”
१५ चैतमा काठमाडौंको तीनकुने क्षेत्रमा भएका विरोध प्रदर्शनलाई नियन्त्रणमा लिन खोज्ने क्रममा उत्पन्न अवस्थामै पत्रकार रजकको मृत्यु भएको थियो।
उनी समाचार संकलनका लागि घटनास्थलमा पुगेका बेला उपस्थित भिड तथा सुरक्षाकर्मीबीचको झडपको सिलसिलामा गम्भीर घाइते भएका थिए।
रजक पत्रकारिताको पेशागत कर्तव्य निर्वाह गर्दै घटनास्थलमा पुगेका थिए।
घटनामा उनको मृत्यु भएकोले पत्रकार महासंघ, विभिन्न सञ्चार संस्था र नागरिक समाजले सरकारसँग शहीद घोषणा गर्न निरन्तर माग गरिरहेका थिए।
सोही मागलाई सम्बोधन गर्दै सरकारले आज औपचारिक रूपमा उनलाई शहीद दर्जा प्रदान गरेको हो।






